News 24 Television
सत्ता आयुमा कांग्रेस–एमालेः किन आत्तिदैछ सरकार ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार कहिलेसम्म ? यो गठबन्धनले पूर्णकार्यकाल पुरा गर्ने वातावरण तय गर्ला ? यस्ता प्रश्नको प्रष्टीकरण सत्तारुढ दलहरुले पटक–पटक दिइरहेका छन् । 

सत्ता गठबन्धनभित्रको आपसी विश्वासमा देखिएको संकट र त्यसमाथिका शंका निवारणको बाटो खोज्दा उनीहरुले अनेक लेप लगाएर औचित्य पुष्टी गर्ने र गठबन्धन कायम रहने जिकिर गरिरहेका छन् । उनीहरुले यस्तो जिकिर किन गरिरहेका छन त ? 

प्रतिनिसभाको पहिलो र दोश्रो ठूलो दलले मिलेर सरकार बनाउने विषय सामान्यतया संसदीय अभ्यासमा हुँदैन् । तर, कांग्रेस एमालेले मिलेर सरकार गठन गरे । यस्तो सरकार अप्राकृतिक भन्दै आलोचना र विरोध चलेपनि उनीहरुले सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजाने जिकिर गरिरहेका छन् । 

सरकार लामो समय नजाने विश्लेषण समेत चलिरहेको बेला उनीहरुले सकेसम्म यो गठबन्धनलाई ०८४ को चुनावसम्मै लैजाने अठोट भने गर्ने गरेका छन् । यस्तै, कांग्रेस नेता विमलेन्द्र निधिले सत्ता साझेदारीमा देखिएको सहमतिकै कारण पनि स्थायित्व हुने र गठबन्धन आगामी निर्वाचनसम्म जाने दाबी गरिरहेका छन् । 

उसोतः सत्ता गठबन्धनको भविष्यबारे अनेक चर्चा भने चलिरहेका छन् । एमाले महासचिव शंकर पोखरेल पनि ठूला दलले स्थायित्व ल्याउने भन्दै सत्ता गठबन्धनबारे चर्चा गरिरहेका पाइन्छन् । 

सत्ता गठबन्धनमा देखिने समस्यामा साझा धारणा बनाएर समाधान गर्नुपर्ने भन्दै आएका कांग्रेस महामन्त्री गगन थापा पनि सरकारको स्थायित्व निर्माणको आधार सरकारको नेतृत्व गर्ने समयलाई आधार बनाउनुपर्ने बताइरहेका छन भने प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डमाथि खनिन् थालेका छन् । 

प्रचण्डले सत्ता समिकरण फेर्न र कांग्रेसलाई प्रधानमन्त्री बनिदिन अपिल गरिरहेको भन्दै गगनले एमालेसँगको सहकार्य नतोडिने भाष्य स्थापित गर्न पुरै बल लगाइरहेका छन् ।

गगनले जस्तै एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले पनि सरकार ढाल्न पर्दाभित्र र बाहिरबाट विभिन्न शक्तिहरु लागिरहेको आरोप लगाएका छन् । 

यसरी सरकार निर्माणको जग र स्थायित्वमाथिका प्रश्नको प्रतिरोध गर्न कांग्रेस एमालेका नेताहहरुलाई भ्याईनभ्याई देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेको गठबन्धनबाट जनता खुशी रहेको पाएको दाबी गरिरहेका छन भने प्रधानमन्त्री केपी ओली पनि यो गठबन्धन आगामी चुनावसम्मै जाने दाबी गरिरहेका छन् । 

यसरी सत्तारुढ दलका नेताहरुले गठबन्धनको भविष्य लामो समय जान्छ भन्नेमै स्पष्टीकरण दिनुपर्ने स्थितिको सिर्जना किन र कसरी भयो ? के यस्तो स्थितिले सरकार लामो समय जान सक्ला ? अनेक प्रश्नहरु स्वभाविक बनिरहेका छन् । भने प्रधानमन्त्री ओलीले सहजै सत्ता हस्तान्त्रण गर्लान भन्ने प्रश्न पनि उत्तिकै पेचिलो देखिन्छ । 

संसदीय अंकगणितका कारण स्थिर सरकारको कल्पना जटिल बनिरहेको बेला प्रतिपक्षी दलहरुले लगाइरहेका आरोप र त्यसको खण्डनमा समय विताउनुपर्ने सरकारले कसरी स्थायित्व दिन सक्ला ? यो राजनीतिक वृत्तमा चल्ने प्रश्न बनेको छ । यस्ता कारण पनि सरकार यस्तै तथ्य र कारणले तर्सिएको अवस्थामा देखिन्छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update