काठमाडौं । कुनै समय कट्टर माओवादी रहेका दुर्गा प्रसाईँ पछि नेकपा एमाले प्रवेश गरेका थिए । एमाले र माओवादी बनेर नेकपा बन्दा पनि उक्त पार्टीमा आँटेका प्रसाइँ केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको खाना खुवाएपछि अझ चर्चामा आए ।
स्वास्थ्य उद्यमी समेत रहेका दुर्गा प्रसाईँले केपी शर्मा ओली र प्रचण्डको आडमा रहेर विभिन्न लाभ लिँदै आएको बताइन्थ्यो । तर पछिल्लो समय दुर्गाको सम्बन्ध न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग राम्रो छ । न त एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नै ।
सुरुका दिनमा प्रचण्डको आड पाएका प्रसाईँले पछि ओलीको साहारा लिएका थिए । तर अहिले तिनै ओलीसँग प्रसाइँको सम्बन्ध दरारतामा परिणत भएको छ ।
विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजका संचालकसमेत रहेका प्रसार्इँ एमाले छाडेयता सामाजिक अभियन्ता बनेका छन् । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को नारा नै लिएर अभियान गरिरहेका प्रसाइँ वर्तमान व्यवस्था र नेतृत्वमाथि कडा आलोचक बनेर मैदान उत्रिएका छन् ।
राजतन्त्र पुरस्थापनाको एजेन्डासमेत बोकेका प्रसाइँले पूर्वराजा ज्ञानेन्द्र शाह र पारश शाहलाई लिएर मेची महकाली अभियानको कार्यक्रम पनि गरे । तर पूर्वराजाको साथ प्रसाईँलाई क्षणिक कालसम्म मात्रै रह्यो । पछिल्लो समय सामाजिक संजाल र केही समर्थकको आडमा विभिन्न कार्यक्रमहरु ग्रिरहेका प्रसाईँले केही अराजक गतिविधि बढाउन थालेका छन् ।
प्रसाईँले केही साता अघि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी रहेको गम्भीर आरोप लगाउँदै प्रमाणका रुपमा विभिन्न कागजात पेश गरे । तर उक्त लगानी रहेको भनिएको प्रधानमन्त्री ओलीको प्रमाण फेक भएको प्रहरी अधिकारीहरुको निश्कर्ष छ । यद्यपि प्रसाईँले भने केही महिना अघि देखि नै ओलीको लगानीबारे प्रमाणसहित भण्डारफोर गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।
तर प्रमाणको रुपमा सार्वजनिक गरिएको कागजातापछि प्रसाईँ पक्राउ गरेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ओलीमाथि तथ्यहीन आरोप लगाउँदै अपुष्ट प्रमाण सार्वजनिक गरेको भन्दै प्रहरीले प्रसाइँलाई मंसिर ४ गते उनकै निवासबाट पक्राउ गरेको थियो ।
प्रहरी नियन्त्रणमा रहेका प्रसाइँले ओलीमाथि आरोप लगाउँदै सार्वजनिक गरेको प्रमाण झुटो भएको स्वीकार गरिसकेको बताइएको छ । यस्तै प्रसाईंले सार्वजनिक गरेको नागरिकताको फोटोकपी र प्रधानमन्त्रीको सक्कली नागरिकता पनि मेल नखाएको बताइएको छ ।
यो सँगै पक्राउ परेका प्रसाईँविरुद्ध साइबर, किर्ते, आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान अघि बढाइएको छ ।
दुर्गा प्रसाइँप्रति अविश्वास
अभियन्ता दुर्गा प्रसाईँ सामाजिक संजाल र आफ्नो अभियानबाट एक प्रकारको जनमत सृजना गर्न सफल भएका थिए । सार्वजनिक रुपमा पनि चोटिलै अभिव्यक्ति दिने गरेका प्रसाइँलाई कुनैपनि कार्यक्रमका लागि समर्थकहरुको अभाव हुने गरेको थिएन । तर प्रधानमन्त्री ओलीमाथि बदलाभावले अपुष्ट प्रमाणको साहारा लिँदा प्रसाईँ आलोचित मात्रै भएनन् उनले समर्थकलाई विश्वासघात समेत गरेको टिप्पणी भइरहेका छन् ।
विरोध गर्ने धेरै विकल्प हुँदा–हुँदै पनि नक्कली कागजातको भर पर्दा प्रसाइँमाथि अराजकता र अपराधको दाग लाग्ने निश्चित देखिन्छ । जसले प्रसाईँमाथि समर्थकबाटै अविश्वास बढाएको पनि प्रष्ट छ ।
