बर्दिया । आज बिहानदेखि सुरु भएको स्थानीय तह उप-चुनावका लागि बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडा अध्यक्ष पदमा ६ दलका उम्मेदवार छन् ।
वडा नम्बर ४ काे वडा अध्यक्ष पदका लागि भइरहेको उप चुनावमा नेपाली काँग्रेसबाट अमिन थारु, नेकपा एमालेले विष्णु प्रसाद देवकोटा, नेकपा माओबादी केन्द्रबाट शेर बहादुर थारु, राष्ट्रिय स्वतन्त्र पार्टिबाट बासुदेव शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्न शाही र नागरिक उन्मुक्तिले प्रितिलाल थारु चुनावी मैदानमा छन् ।
यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनमा काँग्रेसबाट वडा सदस्य पदमा निर्वाचित भएका अमिन थारुले वडा सदस्यबाट राजिनामा दिएर उपनिर्वाचनमा वडा अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन् । त्यतिबेला निर्वाचित वडा अध्यक्ष सुर्य बहादुर बिष्ट जिल्ला समन्वय समिति प्रमुख बनेपछि अमिन थारुले कार्यबाहक वडा अध्यक्ष भएर अध्यक्ष पद सम्हालेका थिए ।
यस्तै २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओबादी केन्द्रबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका पुर्व वडा अध्यक्ष शेर बहादुर थारुलाई यसअघि २०७९ को निर्वाचनमा उम्मेदार बनाईएको थिएन । अहिले उपनिर्वाचनमा वडा अध्यक्ष पदका लागि उनलाई नेकपा माओवादी केन्द्रले उम्मेदवार बनाएको छ ।
यसैगरी नेकपा एमालेबाट विष्णु देवकोटालाई वडा अध्यक्ष पदका लागि उम्मेदवार बनाइएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा बर्दियाबाट चुनावी मैदानमा नआएको नागरिक उन्मुक्ति पार्टीले अहिले भने वडा अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा प्रितिलाल थारुलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले बासुदेव शर्मा र राप्रपाले रत्न बहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।
बर्दियाका ८ स्थानीय तह मध्ये ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ४ मा मात्रै उपनिर्वाचन हुँदैछ । २०७९ वैशाख मसान्तमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका वडा अध्यक्ष सुर्य बहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुख बनेपछि रिक्त रहेको पदमा उपचुनाव हुन लागेको हो ।
ठाकुरबाबा नगरपालिकाको ४ नम्बर वडामा ३ हजार ५ सय १० मतदाता रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिलेसम्म १ हजार ४ सय ४० मत खसेको र मतदान जारी रहेकाे मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले जानकारी दिए ।
