News 24 Television
कैलालीमा मुक्त कमैयाले पाए घर, बाँकी घर पनि बनाइने 

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित दानुवाफाटामा मुक्तकमैयाहरुका लागि बनाइएका घरहरु हस्तान्तरण गरिएको छ । 

स्थानीय पालिकाको समन्वयमा सुदूरपश्चिम प्रदेश सरकार र ह्याबिट्याट फर ह्युमिनिटीको लागत साझेदारीमा १२ वटा घर निर्माण गरिएका थिए । सुदूरपश्चिम प्रदेश सरकारका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले घर हस्तान्तरण गरेपछि मुक्त कमैयामा खुशी छाएको छ । 

सुरक्षित आवास परियोजना अन्तर्गत मुक्त कमैयाका लागी घरहरु निर्माण गरिएको हो । ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा घरहरु निर्माण गरिएका हुन् । 

पुस्तौदेखी सामान्य खरको छानामा बस्दै आएका सुकुम्वासी परिवार पक्की घर पाएपछी खुसी भएका छन् । अब विगतमा जस्तो पानी चुहिने, भ्याकुता, सर्प, तथा छाडा चौपाया घरमा पस्ने जस्ता डर नहुनेमा उनीहरु ढुक्क छन् ।
 
वर्दगोरियाग गाउँपालिकामा करिब एक सय भन्दा बढी मुक्त कमैया परिवार छन् भने यो बस्तीमा मात्र ३२ घर परिवार छन् तर अहिले १२ घरमात्र बनेका छन् । 

तत्कालिन प्रदेश सरकारलार्ई १०० घर बनाइदिन आग्रह गरेपनी १२ मात्र बनेको हो । बस्तिका बाँकी घरसंगै बर्दगोरिया गाँउपालिका भरिकै मुक्त कमैयाका लागि घर निर्माणका लागि प्रदेश सरकारसंग पालिकाले आग्रह गरेको छ । 

मुक्तकमैयालाई सुरक्षित बासको लागी स्थानीय सरकारले गर्नु पर्ने जस्तोसुकै सहयोग गर्न आफुहरु तयार रहेकोे बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको भनाई छ ।

प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गर्दै बाँकी रहेका घर समेत निर्माण गरिने साझेदार संस्था ह्याबिट्याट फर ह्युमिनिटीले जनाएको छ ।

स्थानीय सरकारलाई स्थानीय स्तरका गतिविधी बढी जानकारी रहने भएकाले पालिकाको भुमिका महत्वपूर्ण रहने बताउँदै पालिकाले आवश्कताका आधारमा सिफारिस गरेमा यसै वर्ष भित्र बाँकी घर निर्माण गरिने भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले  बताए ।

यो बस्तीका १२ घर निर्माणका लागि ८० लाख ९४ हजार ५ सय ९४ रुपैयाँ खर्च भएको छ । जसमा सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३७ लाख ३३ हजार ३ सय ३२, ह्याबिट्याट फर ह्युमिनिटी र राष्ट्रिय दलित नेटवर्कले २७ लाख ७७ हजार २ सय ६२ खर्च गरेका छन् भने स्थानीय लाभग्राहीहरूले १५ लाख ८४ हजार बराबरको श्रमदान गरेका छन् । 

प्रति घर ६ लाख ७४ हजार ५ सय ५० रुपैयाँ लागत लागेको बताइएको छ । ३२ परिवार रहेको यो मुक्त कमैया बस्तीमा अब २० घर बन्न बाकी छन् । बाँकी घर पनि चाँडै बन्नेमा मुक्त कमैया विश्वस्त देखिएका छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update