काठमाडौं । प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमणमा छन् । प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षीसहित राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गरेका छन् । तर, ओलीको चीन भ्रमण उनले दाबी गरेजस्तो उपलब्धिमूलक भने हुन सकेन् ।
भूराजनीतिक परिस्थिति जटिल बनेको बेला चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री केपी ओलीले चीनमा घुम्न जान नलागेको र फर्किदा उपलब्धि सुनाउने बताएका थिए ।
ओलीले सुनाउने भनेका उपलब्धिमध्ये चासोका साथ हेरिएको विषय थियो, बीआरआई । चिनियाँ महत्वकांक्षी परियोजना बीआरआई विश्वभर चर्चाको विषयमा रहन्छ ।
यहि बीआरआईमा नेपालले पनि हस्ताक्षर गरेर कार्यान्वयनमा लैजाला भन्ने प्रश्नहरु थिए । तर, यो चासो कल्पनामा सिमित भएको छ भने ओलीले विभिन्न ९ बुँदे सहमति भने गरेका छन् । जुन सहमतिमा भैसीको तयारी मासु चीन निर्यातदेखि टोखा छहरे सुरुङमार्ग समेटिएका छन् ।
के के सहमति भए त ?
१. टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
२. नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
३. नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
४. फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
५. विकास योजना सम्बन्धी समझदारी पत्र
६. आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
७. नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
८. स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र
९. नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र
यी सम्झौताका बुँदाहरु हेर्दा ओलीको भ्रमण सफल र उपलब्धिमुलक बन्न सकेको भन्ने ठाउँ भने देखिन्न । नेपालले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ ऋणलाई अनुदानमा परिणत गर्न अपिल गर्ने भनिएको थियो । तर, यो विषयमा समेत चीनले खास चासो नै नदेखाएको स्थिति छ ।
नेपालले चीन भ्रमणका लागि तय गरेका अधिकांश एजेण्डामा सहमति जुटेको छैन भने सहयोगका र सम्झौताका विषय समेत मोटो र सैद्धान्तिक जस्ता मात्रै देखिन्छन् ।
नेपालले तयार पारेका योजना चीनमा हराए
नेपालले चीन भ्रमणको बेला तयार पारेर लगेका अधिकाशं विषय सम्झौताका अंग बन्न सकेनन् । ओलीको भ्रमणको बेला नेपालले तयार पारेका प्रस्ताव के थिए त ?
१. टोखा–छहरे सुरुङमार्ग
२. हिल्सा–सिमकोट सडक
३. किमाथांका–खाँदबारी सडक तथा पुल
४. जिलोङ–केरुङ–काठमाडौँ सीमापार रेलमार्ग
५. काठमाडौँ–हेटौंडा पोडवे
६. अमरगढी सिटी हल
७. जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन
८. काठमाडौँ उपत्यका प्रसारण लाइन स्तरोन्नति
९. मदन भण्डारी विश्वविद्यालय
१०. काठमाडौँ साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम
११. दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स
बीआरआईको उल्झन
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले साझा धारणा निर्माण गरेको भन्दै नयाँ युगको प्रारम्भ भएको नेताहरुले दाबी गरेका थिए ।
यसको पछाडीको कारण थियो, परराष्ट्रमन्त्री आरजु राणा देउवाले चीनमा समकक्षी वाङ यीसँग भेटवार्ता गरेर फर्किएपछि हौसिएर चीन सकारात्मक बनेको जिकिर गरेकी थिइन् ।
परराष्ट्रमन्त्रीले यस्तो जिकिर गर्दै गर्दा कांग्रेसले बीआरआईमा अनुदानबाहेक ऋण स्वीकार गर्दै नगर्ने अडान भने छोडेन ।
कांग्रेसले निर्णय नै गरेर यस्तो जिकिर गर्न थालेपछि एमाले पनि सत्ता जोगाउन यहि लयमा फर्कियो । तर, अधिकांश कांग्रेस नेताहरुले ऋण भर्सेस अनुदानको विषय बनाएर गिजोल्न खोजिएको आरोप लगाए भने एमाले नेताहरुले पनि यहि आरोप लगाएका थिए ।
यसरी नेपालमा बीआरआईबारेका विभिन्न बहस चलेपछि बढेको अन्तराष्ट्रिय शक्ति केन्द्रहरुको हस्तक्षेप र अमेरिकी सहायता परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणीका मस्यौदाकार समेत सहभागी बनेपछि चीन झस्किन पुग्यो । जसकारण चीनले बीआरआईको नामै उल्लेख नगरी नेपालका प्रधानमन्त्री ओलीलाई उपलब्धिका पोका फुटाउने अवसर दिन उचित ठानेन । तर, प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बीआरआई सहकार्य फ्रेमवर्कमा सम्झौता नभएपनि दुई देशबीचको छलफललाई नै सकारात्मक ढंगले लिनुपर्ने विश्लेषक गोपाल खनालको बुझाई छ ।
भ्रमणमा के भयो ?
– प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर ।
– तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट ।
– चिनियाँ राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट ।
– चिनियाँ राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीसँग भेटवार्ता
यसरी प्रधानमन्त्री ओलीले भ्रमणको दोश्रो दिन बेइजिङमा समय विताएका छन् भने सबै भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी सहयोग, समझदारीमा हस्ताक्षर लगायत विषयमा केन्द्रित भएको बताइएको छ ।
विदेश भ्रमण र नेपाल आउनेक्रम
प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमणमा रहेकै बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँ दिल्ली भ्रमणमा छन् । मन्त्री भण्डारीले समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबीच द्विपक्षीय हितका विषयमा भेटवार्ता गरेको बताइएको छ ।
भ्रमणको क्रममा नेपालको पारवाहन तथा व्यापार सहजीकरणका विषयमा छलफल भएको र छिट्टै पारवाहन सन्धी संशोधनका लागि सकारात्मक छलफल अघि बढेको दाबी गरिएको छ भने यसै साता अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले यसैसाता नेपालको औपचारिक भ्रमण गर्दैछन् ।
भ्रमणको क्रममा डोनाल्डले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दीगो विकासका साथै नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्ने कार्यक्रम रहेको छ भने उनी पहिले श्रीलङ्का, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा आउनेछन् । उनको दक्षिण एसिया भ्रमण नेपालबाट समापन हुनेछ ।
