News 24 Television
रवि लक्षित प्रधानमन्त्री ओलीको टिप्पणी- देश चलाउन सहकारी ठगे जस्तो हुँदैन

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका छन् । आईतवार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अभियुक्त रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका हुन् ।

उनले देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने बताउँदै बुरुक-बुरुक उफ्रिएर मुख छोडे जस्तो सजिलाे नहुने बताए । नयाँ राजनीतिक शक्तिहरुलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिँद उनले नयाँ पार्टीहरू केहीबेर चम्किने र छिटै सेलाउने खालका रहेकाे तर्क गरे ।

प्रधानमन्त्री ओलीले नयाँ शक्तिबाट देश बन्ने भ्रममा नपर्न आग्रह गर्दै भने, ‘कहिले कहिले यस्तो लाग्छ बाँसको झ्याङको छेउमा एउटा नर्कट उम्रिन्छ । बाँसको टुसो भन्दा छिटो बढ्छ । बाँस अलि यत्रो हुँदा नर्कट अलि ठूलो भइसक्छ । अर्को पल्ट हेर्न जाँदा नर्कट बुढो भएर ढलिसकेको हुन्छ । नयाँ नर्कट त्यस्तै हो । यि नर्कटहरु पुर्लक्क उम्रिन्छन्, अलि यत्रा हुन्छन् फेरि ढल्छन् । कोही भ्रममा नपर्नु भए हुन्छ, देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ, सहकारी ठगे जस्तो हुँदैन देश चलाउन भनेको । अरुलाई बुरुक बुरुक उफ्रिएर मुख छोडे जस्तो हुँदैन, देश चलाउनलाई । म त्यतापट्टि जन चाहन्न । विकासको सन्दर्भमा यि सारा उत्तारचढाको बिचमा यो छोटो अवधिमा दमकमा मलाई खुशी लागेको छ ।’

प्रधानमन्त्री ओलीले झुट, भ्रम फैल्याएर अराजकता मच्चाउनेलाई सरकारले नछोड्ने बताए । उनले लोकतन्त्रलाई अझ सुदृढ गर्ने तर मास्न नदिने बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update