News 24 Television
शीर्ष दल एकै पटक बैठकमा ! के हत्याउन कस्ता दाउ ?

काठमाडौं । तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समेत बैठक आह्वान गरेका छन् । 

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र बीआरआई सम्झौताबारे छलफल गर्दै उपचुनावको समीक्षा गर्ने कांग्रेस एमालेको तयारी छ भने माओवादी केन्द्र के गर्दैछ त ? 

प्रतिनिधिसभाका ठूलो दल नेपाली कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सभापति शेरबहाददुर देउवाको निवास बुढानिलकण्ठमा कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक डाकिएको छ । कांग्रेसको बैठकमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र बीआरआई सम्झौताबारे छलफल हुने बताइएको छ । 

कांग्रेसले उपचुनावको समिक्षा, समसामयिक राजनीतिक एजेण्डामा छलफल गर्ने बताइरहेपनि बैठकमा बीआरआई सम्झौताको विषय पेचिलो बन्ने संकेत देखिएको छ । 

यसको संकेत कोशीको प्रथम सम्मेलनमै कांग्रेस नेताहरुले दिइसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले राम्रो गरिरहेको र चीन भ्रमण उपलब्धिपूर्ण बनेको भन्दै धन्यवाद नै दिएका थिए ।

देउवाले बीआरआई सम्झौतालाई अन्यथा लिन नमिल्ने बताउदै सम्झौतामा तानातान गर्न नहुनेमा जोड दिदै गर्दा महामन्त्री गगन थापाले बीआरआई सम्झौतापछि कुनै ऋणमा नेपाललाई पर्न नदिने बताएका थिए ।

चिनियाँ ऋण लगानीमा बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थलको ऋण अहिलेसम्मकै खराब ऋण भन्दै गगनले सम्झौतामा विमर्श हुने संकेत दिइसकेका छन् । 

कांग्रेसले बीआरआईमा विमर्श गर्ने देखिएपछि एमालले पनि सचिवालय बैठक आह्वान गरेको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली अहिले दुई दिनका लागि झापामा छन् ।

उनी झापाबाट फर्किएपछि बस्ने गरि एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले सरकारको नेतृत्व गरेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधेको, मानव अधिकार नै उल्लङ्घन हुने गरि राज्य संयन्त्र परिचालन भएको लगायतका आरोप लागिरहेका छन् भने उपचुनावमा समेत एमालेको मत उत्साहजनक छैन् ।

यस्तोमा चीन भ्रमणपछि बीआरआई सम्झौतामा हस्ताक्षर समेत भएको छ । यसरी कांग्रेसले कस्तो निर्णय गर्छ र त्यसपछि एमालेले पनि निर्णय लिन्छ भन्ने चासो स्वभाविक बनिरहेको छ ।

माओवादी केन्द्र पनि बैठकको तयारीमा

माओवादी केन्द्र स्थानीय तहको निर्वाचनको परिणमापछि हौसिएको छ । प्रचण्डले माओवादी केन्द्रको जनमत २०६४ को जस्तो बन्न पुगेको दाबी गरिरहेका छन भने आफू फेरि क्रान्ति गर्ने तयारीमा जुटेको भनिरहेका छन् । 

माओवादी केन्द्रले मंसिर २७ देखि २९ गतेसम्म बस्ने गरी बैठक बोलाएको छ । माओवादी बैठकको मुख्य एजेन्डा केन्द्रीय समिति बैठक र पार्टी एकताको विषय भएपनि अन्य राजनीतिक विषय रहेको बताइन्छ । 

उसोतः प्रचण्डले तीन पार्टीसँग छलफलमा रहेको  वामपन्थी एकताको तयारी चलिरहेको बताएका छन् । माओवादी केन्द्रले बैठक डाक्दै राजनीतिक कोर्षमा केहि नयाँ संकेतको सन्देश दिने कोसिस गरेको अर्थमा समेत लिइएको छ भने यता, नेकपा एकीकृत समाजवादीले समेत मंसिर २६ देखि २७ सम्मलाई स्थायी समिति बैठक बोलाएको छ । 

नेताहरुको कार्यविभाजनको समस्या बल्झिएको बेला नेकपा एसले बैठक डाक्दै उपचुनावको समिक्षादेखि अन्य विषयमा छलफल गर्ने बताइन्छ । तर, यसरी एकै समयमा लगातार बैठक आह्वान हुनुलाई धेरैले शंकाको दृष्टीले हेरेका छन् । तर, यी बैठकहरु के राजनीतिक एजेण्डा पुरा गर्नका लागि मात्रै हुन   त ? शंका भने चलिरहेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update