काठमाडौं । मंसिर १६ मा सम्पन्न स्थानीय तहको उपनिर्वाचन मत परिणामले माओवादी केन्द्र हौसिएको छ । काँग्रेस–एमालेको सत्ता समीकरण भइरहेको अवस्था भएपनि अपेक्षाभन्दा राम्रो मतपरिणाम आएपछि माओवादी थप हौसिएको स्थिति छ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माओवादीको दिन फर्किएको भन्दै २०६४ सालको स्मरण गरेका थिए ।
प्रचण्ड अब यही जनधारबाट स्पिड बढाउँदै पार्टीलाई बलियो बनाएर जाने रणनीतिमा देखिन्छन् । उनले आगामी ०८४ को निर्वाचनलाई केन्द्रीत गरेर वृहत बामपन्थी एकताका लागि जोड दिने गरेका छन् ।
एकताको आरम्भस्वरुप माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेसपा निकट नेपाल शिक्षक समाजबीच शनिबार एकता भएको छ । यस अवसरमै बोलेका प्रचण्डले शिक्षक संगठनहरुको एकतालाई सकारात्मक शन्देशका रुपमा अर्थ्याएका छन् ।
माओवादी पछिल्लो समय केही राजनीतिक दलहरुसँग एकताको नजिक रहेको देखिन्छ । हुनत माओवादी निरन्तर शक्ति क्षयीकरणको चपेटामा परेपछि पार्टीमा आधिकारिक निर्णय नै गरेर विचार मिल्ने दलहरुसँग एकता गर्ने पक्षमै देखिन्छ ।
यस्तोमा प्रचण्डले एकीकृत समाजवादी, नेकपा विप्लव समूह र महिन्द्र राय यादव नेतृत्वको नेसपासँग एकताको पहल गरिरहेका छन् । यसका लागि चारै दलहरुले भित्रि रुपमा भरपुर प्रयास गरिरहेको प्रष्ट छ । यद्यपि ठोष निश्कर्ष भने आइसकेको छैन । पछिल्लो समय वृहत बाम एकताको प्रयास जारी राखेको माओवादीले एकता धेरैको साझा निष्कर्ष बन्न थालेको दावी गर्ने गरेको छ ।
एकातर्फ वामपन्थी एकताको चर्चा गरिरहँदा माओवादी अध्यक्ष प्रचण्डले अर्कोतर्फ भ्रष्ट्रचारी र प्रतिकृयावादी तत्वहरुविरुद्ध चर्को संघर्ष गर्ने चेतावनी पनि दिँदै आएका छन् ।
यसरी हेर्दा माओवादी आउँदो निर्वाचन सामना गर्न सशक्त बन्ने तरखरमा देखिन्छ । यसअघि प्रचण्डले आफूलाई निर्णयक शक्ति बनाउन समाजवादी मोर्चाको अवधरण ल्याएका थिए । तर त्यसमा जसपा विभाजन भएपछि समाजवादी मोर्चा खास सशक्त बन्न सकेन । तरपनि समाजवादी मोर्चाभित्रै रहेका अन्य दलरु एकता गर्ने प्रयासमै छन् ।
भर्खरै सम्पन्न उपनिर्वाचनमा पनि प्रचण्डले नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरे । नेकपा एकीकृत समाजवादीकै सहयोगमा माओवादी केन्द्र कीर्तिपुर महानगरपालिकाको उपनिर्वाचनमा तेस्रो दल बन्यो ।
उपनिर्वाचनको मत परिणामले हौसिएका प्रचण्डसमेत यो सहकार्यलाई निरन्तरता दिँदै ०८४ सालको आम निर्वाचन सम्म नै पुर्याउन चाहन्छन् ।
यद्यपि स्थानीय तहको उपनिर्वाचन र केन्द्रको निर्वाचन परिणामका आधार एकै नहुने हुँदा माओवादीलाई आगामी आम निर्वाचनको नतिजा सन्तोषजनक बन्नसक्छ भन्ने ग्यारेन्टी भने दिन सकिँदैन । तर जे होस् प्रचण्डले सुखद नतिजा प्राप्त गर्नका लागि भरपुर प्रयास भने गरेकै देखिन्छ । यस्तोमा उनको योजना कति सफल होला त्यो भविष्यले नै देखाउनेछ ।
