News 24 Television
बिआरआई परियोजनामा अनुदान मात्र स्वीकार्ने काँग्रेसको अडान कायमै

काठमाडाैँ । सत्तारुढ दल नेपाली काँग्रेसले बिआरआईमा अनुदान मात्र स्वीकार्ने अडान कायमै राखेकाे छ । साेमबार बसेकाे पार्टीको कार्यसम्पादन समिति बैठकले अनुदान मात्रै स्वीकार्ने निर्णय भएकाे प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

सम्झौता हुनुभन्दा अगाडि नै अनुदानको रुपमा स्वीकार गर्ने तर ऋण स्वीकार नगर्ने निर्णय काँग्रेसले गरेको थियो । त्यसैबमोजिम चीनबाट आएको प्रश्तावमा छलफलपछि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा प्रश्तुत गर्यो । प्रवक्ता महतले पार्टीले बिआरआई अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने निर्णयमा अडिग रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने पहिलादेखिकै अडानमा पार्टी कायम रहेको बताए ।

प्रवक्ता महतले भने, 'अनुदान लिने कुरालाई प्रश्तुत गरेको काँग्रेसले बिआरआईको फ्रेमवर्क समझदारीमा राष्ट्रिय आवश्यकता, हित र अनुकुलताका विषयवस्तुहरुलाई मात्रै समावेश गर्ने गरेर ती विषयवस्तु मात्र अगाडि बढाउन सकिने निर्णय गरेकाे थियाे । तर त्यसमा ग्राण्ड फाइनान्सिङ नभएर एड फाइनान्सिङ आयो भन्ने विषयवस्तुको सार्वजनिक रुपमा चर्चा भएको छ । त्यो फाइनान्सिङमा ग्राण्ड स्वाभाविक रुपमा पर्ने भइहाल्यो । अब आउने परियोजनाका सूचिहरुमा सम्झौता गर्दा अनुदानका आधारमा मात्रै सम्झौता गर्ने, जुन परियोजनामा चीन सरकार अनुदान दिन तयार हुन्छ ति परियोजनामा मात्र सम्झौता गर्ने भन्ने कुराहरु भएका छन् । अहिले पनि नेपाली काँग्रेसको भनाइ अनुदान मात्र लिने हो । चीनसँग मात्र नभई अन्य देशहरुसँग पनि ऋण लिँदा अनेक शर्तहरु हुने भएकाले ति शर्तहरुमा देशलाई फाइदा नहुने र परियोजना कार्यान्वयन भएपछि त्यसबाट प्राप्त प्रतिफल ऋण तिर्नसक्ने खालको नहुने खालका हुन्छन् ।'

ऋण लिएर सम्पन्न गरेका परियोजनाहरुले प्रतिफल नदिने भएका कारण ऋण लिएर परियोजना अगाडि बढाउन नहुने काँग्रेसको धारणा रहेको उनले बताए । 

साेमबारकाे बैठकले पार्टी केन्द्रिय सदस्य उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्षमा अनुमोदन गरेको छ । सभापति शेरबहादुर देउवाद्वारा मनोनित पार्टी केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठलाई कोषाध्यक्षमा बहुमतले अनुमोदन गरेको हाे । बैठकले गण्डकी प्रदेश सभा सदस्य विमला गौतमको निधनपछि रिक्त प्रदेश सभा सदस्य पदमा निर्वाचन आयोगको निर्देशनअनुसार स्याङ्जाकी सुनिता थापालाई प्रश्ताव गरेर पठाउने विषय पनि अनुमोदन गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update