News 24 Television
रविमाथि ज्यादतिविरुद्ध आयोगले थाल्यो छानबिन, गएनन् महानिरीक्षक 

काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेमाथि प्रहरीले गरेको ज्यादतिविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगले छानबिन थालेको छ । रविमाथि अमानवीय व्यवहार गरिएको र मानव अधिकार हनन गरिएको घटनामा उजुरी परेपछि आयोगले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई सोमबार बोलाएको थियो । तर कुँवरले आफू उपस्थित नभएर प्रतिनिधिलाई पठाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेलाई मध्यरातमा उठाएर चितवनबाट काँस्की लगिएको र दुव्र्यवहार गरिएको भन्ने सन्दर्भमा अनुसन्धान शुरु गरेको आयोगका सहसचिव डा. टिकाराम पोखरेलले बताए । सो सम्बन्धमा सोमवार आयोगले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसँग सोधपुछ गरेको छ । आयोगमा उजुरी पर्नुअघि नै काँस्की प्रहरी र लामिछानेसँग पनि सोधपुछ गरिसकेको र अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको उनले बताए । आवश्यक भए प्रमाण संकलन गरेर अनुसन्धान गर्ने उनको भनाइ छ ।

 ‘रवि लामिछानेलाई चितवनबाट काँस्की लैजाँदाखेरी राति लगियो, दुर्व्यवहार गरियो भन्ने सन्दर्भमा मिडियाहरुले पनि प्रशस्तै समाचार लेखे । त्यसको पनि ध्यानाकर्षण भयो । सँगै हाम्रो टोलीले गएर काँस्की प्रहरीसँग पनि सोधपुछ गरेका छौँ,’ उनले भने, ‘साथै हामीले रवि लामिछानेसँग पनि जानकारी लिएका छौँ । उहाँले ममाथि मानव अधिकार उल्लंघन भयो, ममाथि दुव्र्यवहार भयो भन्नुभएको हुनाले उहाँको भनाइ के कति सत्य हो भन्ने सन्दर्भमा जो प्रहरीलाई भन्नुभएको छ, ममाथि दुव्र्यवहार गरियो भनेर ति प्रहरी अधिकारीलाई बेलाएर छलफल गरेको हो । आजको छलफलमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ आउनुभएको थियो । उहाँसँग जानकारी लिने काम गरेका छौँ । प्रहरी महानिरीक्षक काठमाडौं बाहिर भएको कारणले आउन सक्नुभएन । यो अनुसन्धानलाई हामीले निरन्तर अघि बढाइरहेका छौँ । प्रमाण संकलन गर्नसक्छौँ । प्रमाण संकलनको सन्दर्भमा अदालतलाई भए सरहको अधिकार राष्ट्रिय मानव अधिकार आयोगलाई छ । त्यो काम हामी गर्छौं । निरन्तर अनुसन्धान जारी छ । गम्भीर भएर हामी यो अनुसन्धानलाई अघि बढाउँछौँ ।’

लामिछानेमाथि अमानवीय व्यवहार गरेको आलोचना भइरहँदा त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी समेत दिएको हो । 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update