काठमाडौँ । बीआरआई सम्झौताका कारण कांग्रेसमा आन्तरिक मतभेद चुलिने संकेत देखिएको छ । कांग्रेसभित्रको आन्तरिक राजनीति तरल बनिरहेको बेला कांग्रेसले लिने नीति कस्तो बन्ला ? कांग्रेस आगामी महाधिवेशनसम्म कस्तो स्थितिमा रहला ? यस्ता तमाम विषय चासो र चर्चामा छन् ।
नेपाली कांग्रेसको आन्तरिक राजनीति रोचक मोडमा पुगेको छ । कांग्रेसमा छुट्टै भेलादेखि अनेक राजनीतिक गतिविधि अघि बढेका छन् । कांग्रेस नेताहरुले एकढिक्का भएर निर्णय गर्न सक्ने स्थिति टाढिने त होइन भन्ने शंका उब्जिएको छ । कांग्रेसमा संस्थापन पक्ष एक ढंगले अघि बढिरहेको छ भने इतर पक्षका नेता डा. शेखर कोइराला आफ्नै तालमा देखिन्छन् । शेखर आफू पक्षका नेताहरुको कडा प्रतिवादमा उत्रिने दाबी गरिरहेका छन् भने आफ्नो पार्टीले गृहमन्त्रालयको जिम्मा लिँदै गरेका कारबाहीमा समेत प्रश्न गरिरहेका छन् । कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले अलोकतान्त्रिक व्यवहार देखाएको आरोप लगाइरहेका छन् ।
कोइरालाले असन्तुष्टी पोख्दै पार्टीले सहि बाटो समात्न नसकेको बताइरहेका छन् । उनले कोशी प्रदेशको प्रथम सम्मेलन नै बहिष्कार गरिदिए । यस्तो देखिएपछि महामन्त्री गगन थापाले सबैलाई समेट्नुपर्ने र सम्मान दिनुपर्ने बताए । तर सभापति शेरबहादुर देउवाले व्यङ्ग्य कसे । पार्टी भित्रको असन्तुष्टि पार्टीभित्रै राख्नुपर्ने कांग्रेसले अघोषित रुपमा कोइरालालाई चेतावनी नै दिएको छ ।
कांग्रेसले यतिमामात्रै नभई पार्टीको आन्तरिक जीवनमा चिनियाँ महत्वकांक्षी परियोजना बीआरआईको सम्झौतामा समेत तनाव व्यहोर्ने देखिन्छ । कांग्रेसले बैठकबाट अहिले पनि चीनबाट बीआरआईमा ऋण लिदै नलिने भनिरहेको छ ।
महत लगायतका नेताहरुले यस्तो धारणा राख्ने गरेपनि सभापति देउवा भने प्रधानमन्त्री केपी ओलीप्रति सफ्ट कर्नर राखिरहेका छन् । ओलीले सहि काम गरेको दाबी गर्दे आएका देउवाले पार्टीमा पनि चीनलाई धेरै जिस्क्याउन नहुने धारणा राख्ने गरेको बताइन्छ भने देउवा पत्नी आरजुले पनि बुझ्दै नबुझी नबोल्न भनिरहेकी छन् । यस्तोमा कांग्रेसको आन्तरिक राजनीति कसरी अघि बढ्ला ? के बीआरआई लगायतका आन्तरिक विवादले पार्टीको आन्तरिक समिकरणमा फेरबदल आउला ? प्रश्नहरु तमाम छन् । तर, महाधिवेशनको मिति नतोकिएका कारण अहिले नै कांग्रेस संस्थागत रुपमा छिन्नभिन्न हुने सम्भावना भने कम देखिन्छ ।
