काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार र अन्याय गरिरहेको भन्दै तीन दिनभित्र मुद्दा अदालतमा दर्ता गर्न माग गरेका छन् ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले प्रधानमन्त्री र गृहमन्त्रीसामु तीन दिनभित्र मुद्दा अदालतमा दर्ता गराउन माग गरेका हुन् । उनले सरकारले पूर्वगृहमन्त्री लामिछानेलाई गिरफ्तार गरेर १० दिनमा अदालत लैजानुपर्ने भए पनि अहिलेसम्म अमानवीय व्यवहार गरिएको बताए । अनुसन्धानका नाममा विभिन्न जिल्लामा पुर्याउने काम भइरहेकोप्रति उनले आपत्ति समेत जनाए ।
गिरफ्तार गरेर अनुसन्धान गर्नु सरकार,प्रहरी र कानूनको दायरामा पर्ने विषय भए पनि एउटा मान्छेलाई गिरफ्तार गरेर जनावरलाई जस्तो व्यवहार गर्नु स्वीकार्य नभएको उनकाे भनाइ छ । लोकतान्त्रिक र प्रजातान्त्रिक व्यवस्थामा अमानवीय व्यवहार स्वीकार्य नहुने बताउँदै सांसद शर्माले नेपाली काँग्रेसको गृहमन्त्री भएको बेलामा न्यायिक निरुपणको विषय स्पष्ट रुपमा हुनुपर्नेमा जाेड दिए ।
शर्माले भने, ‘सरकारले पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गरियो । अनुसन्धान गर्नेकुरा सरकार,प्रहरी र कानूनको दायरामा पर्ने विषय हो । तर एउटा मान्छेलाई गिरफ्तार गरेपछि प्रक्रिया हुन्छ । जुन सरकारले मान्छेलाई गिरफ्तार गरेको हो । जनावरलाई गिरफ्तार गरेको होइन । मध्यरातमा अमानविय तरिकाले ठाउँ सार्ने काम राम्रो होइन । सरकारले पूर्वगृहमन्त्रीलाई जनावरको जस्तो व्यवहार गरिएको छ । लोकतान्त्रिक र प्रजातान्त्रीक व्यवस्थामा अमानविय कार्यको म घोर भत्र्सना गर्न चाहन्छु । सरकारमा कम्युनिष्ट पार्टी मात्रै छैन । नेपाली काँग्रेस पनि छ । सरकारमा पार्टी सभापतिको श्रीमती जानुभएको छ । कानूनको विद्यार्थी नै गृहमन्त्री हुनुहुन्छ । नेपाली काँग्रेसको गृहमन्त्री भएको बेलामा न्यायिक निरुपणको विषय भएकाले १० दिनभित्रमा अदालतमा बुझाउनुपर्ने भएपनि नियतवस जानीजानी मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा कुदाउने काम भएको छ । लोकलाई लाज हुनेगरी अन्यायपूर्ण ढङ्गले रवि लामिछानेलाई थुनामा राख्ने काम भएको छ । म नेपाल सरकारका प्रधानमन्त्री,गृहमन्त्रीलाई तत्काल तीन दिनमित्रमा रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गरियोस् भन्न चाहन्छु । कानूनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको पनि हो । अदालतले गर्ने फैसलालाई सबैले मान्नुपर्छ ।’
उनले सरकारले लामिछानेलाई नियतवस वा जानिजानि मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा पुर्याउने काम गरिरहेको बताए । उनले लोकलाई लाज हुनेगरी अन्यायपूर्ण ढङ्गले रवि लामिछानेलाई थुनामा राख्न नहुनेमा जोड दिए ।
