काठमाडौं । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकअर्काविरुद्ध खरो रुपमै खनिने गरेका छन् । अहिले ओलीको चीन भ्रमणबारे प्रचण्डले गरेको टिप्पणीले कुनैबेला प्रचण्डले भारत भ्रमण गरेको स्मरण गराइरहेको छ ।
प्राय तीतो पोखेरै राजनीतिक सहकार्य र टकराव गरिरहेका दुई नेताबीच अहिले चलिरहेका वाकयुद्ध पछिको भित्री कारण के हो त ? कहिलेसम्म उनीहरुको बीचको यो तिक्तता चल्ने देखिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओलीमाथि थप आक्रामक भइरहेका छन् । ओलीपनि प्रचण्डविरुद्ध उत्रिन कुनै कम भने छैनन् । केही दिन अघि प्रधानमन्त्री केपी ओली चीन भ्रमणबाट फर्किए । भ्रमणका क्रममा ओलीले चीनसँग बीआरआई सम्झौतामा हस्ताक्षर गरेका थिए । बीआरआई सम्झौता सम्पन्न भएपछि ओलीले खुशी व्यक्त गरे भने ओलीको चीन भ्रमण पूर्णसफल बनेको एमालेले निष्कर्ष पनि निकाल्यो ।
तर, एमालेले ओलीको भ्रमण सफल बनेको जिकिर गर्न अगावै प्रचण्डले भने ओलीमाथि कडा प्रहार गरिसके । ओलीले चीनसँग गरेको बीआरआई सम्झौतालाई प्रचण्डले आफूले पहिले नै गरिसकेको सम्झौताको फोटोकपीको संज्ञा दिए ।
प्रचण्डले यसरी ओलीमाथि अनेक आरोप लगाउदै आएका छन् । कांग्रेस एमालेको सरकार बन्ने आधार नै गिरिबन्धु टिस्टेटको फाइल खोल्ने थाहा पाएपछिको स्थिति भन्दै प्रचण्डले दाबी गरिरहेका छन् ।
यसरी प्रचण्डले आरोप लगाउन थालेपछि एमाले नेताहरुले पनि आक्रोश पोखिरहेका छन् । एमाले सचिवालय बैठकले समेत प्रचण्डको नाम नलिएरै केहीले क्षणिक स्वार्थका लागि दुष्प्रचार गर्न खोजेको आरोप लगाएको छ । यसरी चलिरहेको विवाद र आलोचनाको कारण भने सत्ता नेतृत्व नै देखिन्छ ।
प्रचण्डले अहिलेको सरकार भ्रष्टाचारी जोगाउन बनेको आरोप लगाइरहेका छन् भने ओलीले सरकार सुशासन कायम गराएरै छाड्ने दाबी गरिरहेका छन् ।
ओलीले त प्रचण्डलाई १७ हजार मान्छे मारेको, लुटपाट गरेको जस्ता आरोप समेत लगाइरहेका छन् । यता, बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले देश छाडेको उदाहरण दिदै ओलीलाई चेतावनी दिएका प्रचण्डले ओलीको जवाफ पाइसकेका छन् । तर, प्रचण्ड अहिले पनि त्यो भनाई आफूले सुझावको रुपमा दिएको दाबी गरिरहन्छन् ।
ओलीले लगाउने अनेक आरोपपछि प्रचण्डले पनि यसको प्रतिवाद गर्ने गरेका छन् । तर, पछिल्लो समय दुई नेताबीच खास राम्रो सम्बन्ध भने छैन् । ओलीले कांग्रेससँग सत्ता गठबन्धन गर्दा पनि आफूलाई ढाँटेको प्रचण्डले पटक–पटक दाबी गर्ने गरेका छन् ।
प्रचण्डको यो आरोपमा भने ओलीले खास प्रतिक्रिया दिने गरेका छैनन् । तर, एमालेले सत्ता छटपटीमा प्रचण्डले जथाभावी बोल्न थालेको जिकिर गर्दै आएको छ ।
यसरी दुई नेताबीच चलेको जुहारी र विवाद तत्काल एकतासम्म पुगेको दृष्टान्त समेत रहेकाले ओली–प्रचण्डबीचको यस्तो आरोप–प्रत्यारोप सम्बन्ध स्थापनाका लागि समेत हुने भएकाले राजनीतिक विवादले दरार ल्याउला भन्ने आधार निर्माण भने गर्न सकेको देखिन्न । तर, पछिल्लो समय देखिएको राजनीतिक परिदृश्यले भने गठबन्धन तलमाथि त पर्दैन भन्ने शंका भने उब्जाइदिएको छ ।
