काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नागरिकले आमुल परिवर्तनको अपेक्षा गरेका थिए । तर राजतन्त्रात्मक शासन ब्यवस्थाकै अन्त्यपछि पनि मुलुक समृद्धिको बाटोमा अघि बढ्न सकेन ।
राजनीतिक दलहरु नै बन्द हड्तालमा उत्रिएपछि झनै अस्तब्यस्त बन्दै गयो । राजनीतिक अस्थिरताकै कारण देखाउँदै एकपछि अर्को बैंकल्पिक शक्तिहरु घोषणा हुन थाले । तर अहिलेसम्म पनि कुनै पनि बैकल्पिक शक्तिहरुको राजनीति दिगो हुन सकेको छैन ।
२०६२÷६३ को जनआन्दालनपछि मुलुकमा नयाँ राजनीतिक उभार आए पनि मुलुक अपेक्षाकृत समृद्धिको बाटोमा अघि बढ्न सकेन । नयाँ राजनीतिक ब्यवस्थासँगै ऐतिहासिक संविधासभाको निर्वाचनबाट नयाँ संविधान लेख्ने रस्साकस्सी भयो । तर नयाँ संविधानलेखनको रस्साकस्सीसँगै मुलुकमा राजनीतिक दलहरुले बन्द हड्ताल चक्काजाम जस्ता अस्थिर राजनीतिक गतिविधि बढाउँदै लगेपछि उज्वल थापाले विवेकशील अभियान सञ्चालन गर्दै बन्द हड्तालको प्रतिरोध गर्न नसकेपछि सांकेतिक विरोध गर्न थालेका थिए ।
उनको अभियानमा युवापंक्ति लामबद्ध हुन थाल्यो । राजनीतिक प्रति विकर्षण देखिएको युवा पंक्तिलाई राजनीतितर्फ डोर्याउन थालेका थापाले विवेकशील पार्टी बनाए । त्यसयता वैकल्पिक राजनीतिको नारा दिएर थुप्रै समूहहरु जन्मिए । तर कुनै पनि समूहले स्थायी रुपमा अघि बढ्न सकेको छैन ।
एमालेबाट विद्रोह गरी संघीय समाजवादी पार्टी घोषणा
संघीयतामै मतभेद देखाउँदै २०६९ मंसिरमा अशोक राई लगायतको समूहले एमालेबाट विद्रोह गर्यो । एमालेबाट अलग भएका आदिवासी जनजाति नेताहरूले ‘सङ्घीय समाजवादी पार्टी नेपाल’ नामको नयाँ पार्टी घोषणा गरे । जसलाई उनीहरुले मुलुकको वैकल्पिक शक्ति बताएका थिए । तर कांग्रेसबाट अलग भएको कुमार राई समूह आधारभूत सिद्धान्तमा कुरा नमिल्दा राई समूहमा अटाउन सकेनन् ।
बाबुरामको नयाँ शक्तिको स्थापना
मुलुकमा एकपछि अर्को गर्दै नयाँ दलहरु घोषणा हुने क्रम जारी रह्यो । तत्कालिन माओवादीबाट अलग भएका डा. बाबुराम भट्टराईले २०७३ जेठमा नयाँ शक्ति पार्टीको घोषणा गरे । लामो समय नयाँ शक्ति अभियान हुँदै भट्टराईले पार्टी घोषणा गरेका थिए ।
सुशासन तथा आर्थिक समृद्धिको नार दिएर भट्टराईले घोषणा गरेको नयाँ शक्ति पार्टीमा पासाङ शेर्पा, परशुराम खापुङ्ग, मदन राई, रामेश्वर खनाल, रामचन्द्र झा, कल्पना धमला, मुक्ति प्रधान, नवराज सुवेदी, खिमलाल देवकोटा, देवेन्द्र पराजुली, वामदेव क्षेत्री, महेन्द्र पासवान, डम्बर खतिवडादेखि कलाकारहरू करिष्मा मानन्धर, प्रदीप देवान, सरोज खनाल, लक्ष्मण शेषहरु जोडिएका थिए । तर नयाँ शक्ति भट्टराईले उपेन्द्र यादव नेतृत्वको पार्टीमा विलिन बनाए । भट्टराईको पछि लागेका अधिकांश नेताहरु तितरबितर भए ।
अस्तित्वको खोजीमा रविन्द्र मिश्र
विवेकशील पार्टी स्थापित हुँदै गर्दा रविन्द्र मिश्रले साझा पार्टी घोषणा गरेका थिए । तर उनी अस्तित्वमा आउन नसकेपछि २०७४ सालमा विवेकशीलसँग एकता प्रक्रियामा आए । वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता गराएको उनीहरुले दाबी गरे पनि एकता एक वर्ष टिक्न सकेन । २०७५ पुसमा विवेकशील र साझा पार्टी अलग भए ।
रविन्द्र प्रवृत्तिको विरोध गर्दै उज्वल समूह अलग भएपछि वैकल्पिक शक्ति निर्माण प्रक्रिया अधुरै रह्यो । अन्ततः मिश्र राजावादी समूह राप्रपामा प्रवेश गरे । विवेकशिलका संस्थापक उज्वल थापाको कोरोना संक्रमणमा कारण निधन भएपछि मिलन पाण्डेले विवेकशिल नेपाली दललाई पुर्नजीवन दिन खोजेपन सफल हुन सकेका छैनन् ।
स्वतन्त्रको लहडमा रवि लामिछानेको उदय
मुलधारका भनिएका ठूला राजनीतिक पार्टीहरुको अस्थिर राजनीतिक चरित्रका कारण आम नागरिक नै राजनीतिकप्रति रुष्ट भइरहँदा पछिल्लो ७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको लहड देखा पर्यो । स्वतन्त्रको लहड देखेर टेलिभिजन पत्रकारिता छाडेर रवि लामिछानेले स्वतन्त्र नामकै पार्टी घोषणा गरे । उनले आफूलाई वैकल्पिक शक्तिको दाबी गरे । ब्यवस्था होइन, अवस्था बदल्ने नारा लगाए ।
टेलिभिजनको स्क्रिनमा सुशासन र पारदर्शिताको चर्को आवाज उठाएकै कारण लामिछाने एकाएक चर्चामा मात्र आएनन्, पार्टी घोषणाको ६ महिनाभित्रै भएको संघीय निर्वाचनमा अप्रत्याशित जित निकाले ।
सुशासन, पारदर्शिताको वकालत गर्ने लामिछाने यतिबेला भने सहकारीको रकम अपचलनको विषयमा प्रहरी अनुसन्धानमा छन् । नेपाली नागरिकता नै त्यागेकोदेखि सहकारी ठगी प्रकरणमा मुछिएपछि लामिछाने नेतृत्वको राजनीतिक दलको भविष्य पनि अन्योलमा छ ।
