काठमाडौं । नेकपा एमालेबाट अलग भई माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीले २०७९ सालको निर्वाचनबाट संसदमा राष्ट्रिय दलको समेत मान्यता प्राप्त गर्न सकेन ।
ठूला दलहरुको गठबन्धन बनाएर निर्वाचनमा होमिएको नेकपा एसले राष्ट्रिय दलको मान्यता पाउन नसक्दा एमाले भने दोस्रो पार्टीमै दर्ज भयो । मंसिर १६ गते सम्पन्न स्थानीय तह उपचुनावमा सून्य नतिजा आएको यो दलले राजनीतिक अस्तित्व जोगाउने कसरतमा छ ।
नेकपा एमालेबाट विद्रोह गरी माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको साढे २ वर्ष बढी भइसकेको छ । एमालेबाट विद्रोह गरे नयाँ पार्टी बनाए पनि पार्टीले गति लिन सकेको छैन ।
एमाले नै मुल शक्तिका रुपमा उदाएपछि नेकपा एसका नेता कार्यकर्ताहरु धमाधम पुरानै पार्टीमा फर्किरहेका छन् । केन्द्रदेखि जिल्लासम्म नै पहिरो जाने क्रम रोकिएको छैन । एमालेसँग विद्रोहको बेलामा साथ दिएका नेताहरु नै महाधिवेशनमा पराजित भए । पार्टी महाधिवेशनपछि नेता कार्यकर्ताहरुको असन्तुष्टि झनै चुलिएको छ ।
पार्टी अस्तित्व जोगाउनका लागि समाजवादी मोर्चा गठन भए पनि मोर्चा सक्रिय हुन सकिरहेको छैन । मोर्चामा सहभागी सबै दलहरुले मोर्चा उपयोगको रणनीतिमै थिए । समाजवादी मोर्चा हुँदै पार्टी एकताको चर्चा चलेपनि पार्टी एकता सहज छैन ।
पछिल्लो स्थानीय तहको उपचुनावको नतिजाले त नेकपा एसका नेता कार्यकर्ताहरुलाई निराश नै बनाएको छ । त्यसैले पार्टीको सांगठनिक संरचना नै फेरबदल गर्ने तयारीमा माधव नेपाल रहेका छन् । नेताहरुको कार्यविभाजन तथा सांगठनिक संरचना फेरबदल गर्न नेपाल नेतृत्वमा कार्यदल नै गठन भएको छ ।
एमालेसँगको विद्रोहका बेला अलग रहेका घनश्याम भुसाल पार्टीमा भित्रिए पनि पार्टीले गति लिन नसकेपछि अहिले पार्टी निर्माणको योजनाबारे छलफल शुरु भएको छ । जसका लागि महासचिव भुसालले पार्टी निर्माणको प्रस्ताव नै पेश गरेका छन् ।
गठबन्धन नगर्ने, सडकको सहारा
पार्टीको सांगठिनक संरचना फेरबदल गर्ने योजनाका साथ बुधबारदेखि पार्टी नेताहरु छलफलमा जुटका छन् । त्यसैका लागि बुधबारदेखि शुरु भएको स्थायी समिति बैठकमा आगामी ८४ सालको निर्वाचनमा पार्टी एक्लै चुनावमा जानुपर्नेसहितको प्रस्ताव भुसालले पेश गरेका छन् ।
पार्टी निर्माणको लागि जनताको साथ लिएर सडक आन्दोलनमै जानुपर्ने भुसालको प्रस्ताव छ । भुसालले आन्दोलनबाट नै पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
गठबन्धनको भविष्यको चर्चा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको स्थायित्वबारे सवत्र्र चर्चा भइरहेको छ । चीनसँगको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) सम्झौताकै कारण कांग्रेस–एमाले गठबन्धनको सरकार ढल्ने जोखिम बढिरहेकाबेला नेकपा एसले भने यो गठबन्धन आगामी ८४ सालसम्म नै जान सक्ने अनुमान गरेको छ । तर यो गठबन्धनको सरकारले अर्थ राजनीतिलाई तनाव बढाइरहने संकेत भुसालले आफ्नो प्रतिवेदनमा गरेका छन् । ८४ सालको निर्वाचनपछि राजनीति परिस्थिति अझै विग्रिनेतर्फ पनि भुसालले इंगित गरेका छन् ।
संंविधान संशोधनबारे नेकपा एस
सत्तारुढ प्रमुख दुई दल संविधान संशोधनकै मुद्दामा अघि सारेर अघि सारेर गठबन्धन गरेका हुन् । उनीहरुको संविधान संशोधनको एजेण्डलाई विपक्षी दलहरुले विभिन्न आशंकाले हेरिरहेका छन् ।
तर पछिल्लो समय माओवादी केन्द्र संशोधनमा सकारात्मक भइरहँदा एकीकृत समाजवादीका महासचिव भुसाल अन्तरविरोध बढ्ने बताएका छन् ।
सांगठनिक संरचनामा हेरफेर गर्दै पार्टी निर्माणमा जुटेको यो दलभित्रको रस्साकस्सी चर्को हुने देखिएको छ ।
