News 24 Television
सत्तारुढ दलहरुको दरारसँगै विपक्षीहरु नयाँ रणनीतिमा  

काठमाडौं । स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएपछि विपक्षी दलहरु आन्तरिक समीक्षामा जुटेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल तथा संसद बाहिर रहेको विप्लव नेकपा पनि आन्तरिक छलफलमा जुटेको हो ।

विपक्षी दलहरुले स्थानीय तह उपनिर्वाचनको समीक्षा गरिरहँदा विप्लव भने ८४ सालको निर्वाचनको तयारीमा छ । स्थानीय तहको उपनिर्वाचनबाट हौसिएको प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र आगामी निर्वाचनमा एक्लै लड्ने हैसियतमा देखिएको छ । 

ठूला दलबीचको गठबन्धनले मात्रै पार्टी जोगिएको आरोप लागेको माओवादी केन्द्र स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा रह्यो । 

स्थानीय तहको उपचुनावको समीक्षासहित आगामी निर्वाचनको रणनीति बनाउन कस्सिएको माओवादी दुई दलीय वकालत गरेको कांग्रेस र एमालेको योजना असफल भएको निश्कर्ष नै निकालेको छ ।

आगामी निर्वाचनलाई लक्षित गरी संगठन विस्तारमा लागेको माओवादी खबरदारी सभा र पालिका सम्मेलन एकसाथ अघि बढाउने तयारीमा छ । 

सांगठनिक संरचना बल्ने योजनामा समाजवादी

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि दुई दिनदेखि आन्तरिक छलफलमा जुटेको छ । स्थानीय तहको उपचुनावमा देखिएको कमजोर नतिजाको समीक्षा गर्दै पार्टी नेताहरुको जिम्मेवारी हेरफेर तथा सांगठिन संरचना फेरबदल गर्ने योजनामा समाजवादी रहेको छ । 

दशौं राष्ट्रिय सम्मेलन सम्पन्न गरे पनि नेताहरुको कार्यविभाजन हुन सकेको थिएन । माधव नेपाल नेतृत्वको सात सदस्यीय कार्यदलको प्रस्तावका आधारमा नेताहरुको कार्यविभाजन गर्ने गरी सचिवालय बैठकमा छलफल भइरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा जारी बैठकमा महासचिव घनश्याम भुसालले पार्टी निर्माणबारेमा प्रस्ताव पेश गरेका छन् । 

उपचुनावको समीक्षामा जसपा नेपाल 

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पनि स्थानीय तहको उपचुनावको समिक्षा गरिरहेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुक्रबारदेखि शुरु भएको कार्यकारिणी समितिको पूर्ण बैठकमा चुनावी मत परिणाम र निर्वाचनमा पार्टी नेतृत्वको भूमिकाबारेमा छलफल भइरहेको नेताहरुले बताएका छन् । स्थानीय तहमा १२ स्थानमा उम्मेदवारी दिएको जसपा नेपालले २ वटा वडा अध्यक्षको पद जितेको छ । 

निर्वाचन उपयोगको रणनीतिमा विप्लव 

माओवादीसहितका विपक्षी दलहरुले स्थानीय तहको उपचुनावको समीक्षा गरिरहँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा भने आगामी ८४ सालको निर्वाचन उपयोग गर्ने योजनामा रहेको छ । यसअघिका निर्वाचन बहिष्कार गर्दै आएका विप्लवले पछिल्लो पटक स्थानीय तहको उपचुनावमा भाग नलिए पनि बाम उम्मेदवारहरुलाई समर्थन जनाएको थियो ।

कपिलवस्तुमा विहीबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा विप्लवले पेश गरेको राजनीतिक प्रस्तावमा आगामी ८४ सालको निर्वाचन उपयोग गर्ने स्पष्ट गरेका छन् । त्यसका लागि तयारीमा रहन कार्यकर्ताहरुलाई निर्देशन नै दिएका छन् । 

यसअघि मोहन वैद्यले ७४ सालको निर्वाचन उपयोग गर्दा पनि विप्लवले बहिष्कार गरेका थिए । पछिल्लो पटक चीनसँग भएको बीआरआई सम्झौताको विषयलाई लिएर सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेबीच दरार उत्पन्न भइरहेका बेला विपक्षी दलहरुको आन्तरिक छलफल अर्थपूर्ण मानिएको छ । 

 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update