News 24 Television
पत्रकार महासंघमा दलीय छायाँः श्रमजीवीको मुद्दा ओझेलमा

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान भएको हो । 

झण्डै ६ महिनाअघि महासंघको २७ औं महाधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भए पनि सदस्यता विवादका कारण निर्वाचन हुन सकेको थिए । 

लामो समयको विवाद र रस्साकस्सीकाबीच सम्पन्न भएको यो निर्वाचन पनि राजनीतिक ध्रुवीकरणबाट अछुतो भने रहन सकेन । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन उद्घाटन सम्पन्न भएको ६ महिनापछि मात्रै मतदान सम्पन्न भएको छ । 

राजनीतिक दल सम्बद्ध प्रमुख तीन पत्रकार संगठनहरुबीचको सदस्यता विवादका कारण महासंघ अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका थिए । 

पोखरेलको राजीनामापछि कार्यवाहक अध्यक्ष बनाइएका रमेश विष्टले पनि निर्वाचन गर्न नसक्ने भन्दै राजीनामा दिएपछि बाला अधिकारीले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन् । बालाकै नेतृत्वमा सबै जिल्ला शाखा अध्यक्षहरुको भेला बोलाएर निर्वाचन गर्ने निर्णय भएको थियो । 

जिल्ला र प्रदेशले सिफारिस गरेको सदस्यलाई मात्रै मान्यता दिने निर्णय गरि निर्वाचन सम्पन्न गरिए पनि सदस्यता शुद्धिकरणको विवाद कायमै रहेको छ भने महासंघका दलीय छायाँ कायमै रहेको छ । महासंघका सत्तारुढ प्रमुख २ दल नेकपा एमाले र नेपाली कांग्रेस सम्बद्ध पत्रकारहरुको संयुक्त प्यानल तथा प्रमुख विपक्षी माओवादी केन्द्रसहितका दलहरु सम्बद्ध पत्रकारहरुको अर्को समूह प्रतिष्पर्धामा उत्रिएको हो । 

दलीय आवद्धता भएका संगठनहरुको समूहगत प्रतिष्पर्धाका कारण फेरि पनि महासंघ श्रमजीवी पत्रकारहरुको उपेक्षित हुने देखिएको छ । यद्यपिमहासंघको चुनावले सञ्चारकर्मीहरूलाई एकीकृत गर्न र उनीहरूको समस्यालाई समाधान गर्न नेतृत्व प्रदान गर्ने विश्वास पत्रकारहरूको छ । 

मतदाता उत्साहजनक भए पनि निर्वाचन प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि केही प्रश्न उठेका छन् जसले आगामी नेतृत्वको कार्यप्रति थप दबाब सिर्जना गरेको छ । 

अब नव–निर्वाचित टोलीले पत्रकारहरूको अपेक्षा पूरा गर्दै महासंघलाई थप सशक्त बनाउने चुनौती सामना गर्नुपर्नेछ । 

राजनीतिक र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर महासंघले प्रेस स्वतन्त्रता, सूचना पहुँचको अधिकार, र दुरुपयोगको विरुद्ध लड्न स्पष्ट नीति र योजना बनाउनु पर्नेमा पत्रकारहरूको जोड छ । पत्रकारहरूलाई पेशागत रुपमा सक्षम बनाउने र मिडिया जगतमा विश्वसनीयता कायम राख्ने प्रतिबद्धता उनीहरुको छ ।  

नेपाल पत्रकार महासंघले सम्पूर्ण पत्रकारहरूको हक, अधिकार, र व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्ने मात्र होइन, स्वतन्त्र र जिम्मेवार पत्रकारितालाई प्रवर्द्धन गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रभावकारी भूमिका खेल्न आवश्यक छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update