News 24 Television
यसरी भङ्गालोमा फस्न सक्छ नेपाल ! के भन्छ सरकार ?

काठमाडौं । अर्थतन्त्रले अझै सुधारको लय समात्न नसकेको भन्दै टिप्पणीहरु बढ्न थालेका छन् । स्वयंम अर्थमन्त्री समेत अर्थतन्त्रको अहिलेको अवस्थाप्रति सन्तुष्ट छैन । 

जताततै असन्तुष्टिको परिवेशमा अर्थ विश्लेषकदेखि सरोकारवाला सबैले अर्थतन्त्रको खराब अवस्थालाई सुधारतर्फ लैजान सरकारले नीतिगत सुधारलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइरहेका छन् । 

मुलुकको अर्थतन्त्र क्षेत्र अहिले राम्रो अवस्थामा छैन । पूजीँगत खर्च हुन नसक्ने, राजस्व संकलन लक्ष्य अनुसार नहुने र आर्थिक अनुशासनको पालना नहुने जस्ता समस्याले अर्थतन्त्र दबाब र संकटमा छ । स्वयंम अर्थमन्त्री नै आफुले सोचेअनुसारको सुधार अर्थतन्त्रमा नभएको तर प्रयासरत रहेको बताइरहेका छन् । 

नेपालको अर्थतन्त्रले लय समात्न नसक्नुमा सरोकारवालाहरु राजनीति नै कारक देख्छन् । संसदका दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएपनि आर्थिक सुधार हुन नसकेको आरोप सरोकारवालाहरुले लगाइरहेका छन् । 

मौद्रिक नीति पनि कछुवाको गतिमा सुधार भइरहेको टिप्पणी बैंकिङ क्षेत्रका अधिकारीहरुको छ । देशलाई आर्थिक दृष्टिकोणले नयाँ दिशा दिन निजी क्षेत्र तयार रहेको र शिथिल अर्थतन्त्रबाट उन्मुक्ति नपाएसम्म क्रेडिट रेटिङले मात्रै नहुने विश्लेषण उनीहरुको छ । 

उद्योग क्षेत्रको अवस्था पनि सन्तोषजनक छैन । अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गर्न जरुरी रहेको औल्याउछन् उद्योगी व्यवसायीहरु ।

सरकारले नीति ल्याएर मात्रै अर्थतन्त्र चलायमान नबन्ने भन्दै सबै पक्ष जिम्मेवार हिसावबाट अघि बढ्न सक्नुपर्नेमा उनीहरुको जोड छ । अन्तरमन्त्रालय र निकायबीचको समन्वयको अभावले पनि कतिपय समस्याहरु सिर्जना भइरहेकाले यसको सुधार आवश्यक रहेको उनीहरुको भनाई   छ । 

उद्योगहरुलाई आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा दिनुपर्ने समेत उनीहरुको सुझाव छ । उद्योगी व्यवसायीहरुले अर्थतन्त्र सुधारका लागि सूचना प्रविधि क्षेत्रमा लगानी प्रवद्र्धनलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औल्याएका छन् ।

अहिले पूजीँगत खर्च गर्न सरकार चुकिरहेको छ । निर्माण व्यवसायीहरु भुक्तानी नपाउँदा निर्माण क्षेत्र समस्याग्रस्त छ । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ । सरकारले अर्थतन्त्रको क्षेत्रमा नियमनकारी काम समेत गर्न नसकेको देखिन्छ । 

सेयर बजारमा देखिएको उदण्डताले पनि अर्थतन्त्रमा विचौलिया हाबी भएको विश्लेषण पनि भइरहेका छन् । यसरी समग्र अर्थतन्त्र खराब अवस्थामा रहेकाले यसको समग्र व्यवस्थापनका लागि प्रभावकारी कदमको आवश्यकता देखिन्छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update