काठमाडौं । संविधान संशोधन गर्ने भन्दै कांग्रेस एमालेले सत्ता गठबन्धन गरेपनि यो विषयको औपचारिक बहस शुरुवात भने हुन सकेको छैन् ।
नेताहरुले फ्लोरमा संविधान संशोधनको विषय उठाएपनि के विषय र आधारमा हुने हो भन्ने विषय खुलाउन सकेका छैनन भने संविधान संशोधन सरकार, प्रतिपक्षी दल र संसद कसको भन्ने विषय समेत विवादमा छ ।
संविधान संशोधन गर्दै समानुपातिक निर्वाचन प्रणालीलाई राष्ट्रियसभामा लैजानेदेखि विभिन्न विषयमा बहस चलिरहेको छ । संविधान संशोधन गर्ने भए कार्यकारी प्रत्यक्ष निर्वाचित गर्नुपर्नेदेखि विभिन्न एजेण्डा प्रवेश पाएका छन तर, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे संविधान संशोधन सरकारको मात्रै विषय नभएको ठान्छन् । भने अधिकतम सहमति आवश्यक हुनेमा समेत उनको जोड देखिन्छ ।
सरकार भने संविधान संशोधनमा कानूनी त्रुटी हटाउनेदेखि स्थिरता कायम गर्न गर्नैपर्ने विषय भनिरहेको छ । जनतालाई न्याय दिन संविधान संशोधन हुने कानूनमन्त्री अजय चौरासियाको दाबी छ ।
सत्तारुढ दलबीचको ७ बुँदे सम्झौतामै उल्लेख भएको संविधान संशोधनको विषय दुई तिहाईले गर्न सक्ने भएपनि त्यो कति सम्भव छ ? संविधानको अंग मध्येका अन्य दललाई बाहिर राखेर गरिने यस्तो संशोधन कति सहज हुन सक्छ ? प्रश्नहरु तमाम उठिरहेको बेला कांग्रेस सभापति शेरबहादुर देउवा भने उपराष्ट्रपति नै राष्ट्रियसभाको अध्यक्ष हुने गरि संविधान संशोधन गर्नुपर्ने दाबी गर्छन् । देउवाको यस्तो दाबी स्वभाविक भने देखिन्न । उपराष्ट्रपति देशको दोश्रो ठूलो सर्वोच्च पद हो ।
यसरी मर्यादा र ओहोदामा उपराष्ट्रपति प्रधानमन्त्रीभन्दा माथि रहने र राष्ट्रियसभाको अध्यक्ष प्रधानमन्त्रीभन्दा पनि तल हुने भएकाले यो कसरी सम्भव हुन्छ ? यसको मर्यादाक्रम कसरी मिलान हुन्छ ? प्रश्नहरु तमाम छन् ।
यस्तोमा प्रधानमन्त्री केपी ओली भने संविधान संशोधनको विषयमा संसदलाई जानकारी दिदा सबैको सहभागितामा हुने भनिरहेका देखिन्थे ।
संविधान संशोधनको एजेण्डा राजनीतिक वृत्तमा पसेपनि प्रमुख प्रतिपक्षि दल नेकपा माओवादी केन्द्र भने कांग्रेस एमालेले संविधान संशोधन गर्नका लागि नभई सत्ता सहकार्य अर्कै काम गर्न बनेको दाबी गरिरहेको छ ।
दलहरुबीच यसरी संविधान संशोधनको विषयमा बहस चल्दा पूर्वप्रधानन्यायाधीश शुशिला कार्की भने संविधान संशोधन गर्ने बेला नभएको तर्क गरिरहेकी छन् । उनले संविधानको भाषा नमिलेपनि शुरुदेखि अन्तिमसम्म सबै विषय छोएकाले अहिले संशोधनको समय नभएको भनिरहेकी छन् ।
संविधान संशोधनका यसरी चलिरहेका विमर्शले के संविधान संशोधन कांग्रेस एमालेको सत्ता गठबन्धनले गर्ला ? यो प्रश्न चासोपूर्वक हेरिएको छ । तर, संविधान संशोधनको विषय सहज पनि नभएकाले पर्याप्त छलफल, चुनावी एजेण्डा लगायतमा विषयमा समेत ध्यान केन्द्रित गर्नुपर्ने आवाज उठ्न थालेका छन् ।
