News 24 Television
ओली–प्रचण्ड दोहोरी श्रृङ्खला : हार्न नमान्ने प्रचण्ड, ठुङ्न नछाड्ने ओली 

काठमाडौं । नेपाली राजनीतिमा यस्ता दुई नेता, जो एक–अर्कामा निकट भएको देखि कट्टर आलोचक बनेका पात्रमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै हुन् । 

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड  कुनै बेला नेकपा गठन गरेर एकै दलका दुई अध्यक्षसमेत बने । तर दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकता र दुई अध्यक्षको अभ्यास ओली प्रचण्डलाई फापेन । 

यसपछि फरक–फरक दल बनेर पनि सँधै एकअर्काविरुद्ध आगो ओकल्दै आएको ओली–प्रचण्ड सम्बन्ध अझै सग्लो भएको स्थिति छैन । 

नेकपा विभाजपछिको सहकार्य पनि विफल

नेकपा एमाले र माओवादी केन्द्रले ०७९ सालको आम निर्वाचनपछि बनेको नयाँ सरकारमा पनि सहकार्य गरे । काँग्रेस माओवादीले गठबन्धन गरेर निर्वाचन लडेपनि बहुमत प्राप्त नभएपछि सत्ता नेतृत्वका लागि किचलो उत्पन्न भएको थियो । 

त्यसपछि उक्त निर्वाचनमा पहिलो दल बनेको काँग्रेस माओवादीलाई सत्ताको नेतृत्व छाड्न  असमर्थ रह्यो  । यसपछि एमालेसँगकै सहकार्यमा माओवादी नेतृत्वमा सरकार बन्यो  । तरपनि ओली–प्रचण्ड तालमेल मिलेन । 

फलतः सत्ता समीकरण काँग्रेसतिरै केन्द्रीकृत भयो । त्यसपछि परिवर्तित समीकरणमा काँग्रेस–एमालेको सहकार्यमा सरकार बनेको स्थिति छ । यसपछि ओली र प्रचण्डबाट एकअर्काबिरुद्ध अझ आक्रामक अभिव्यक्ति आइरहेका छन् । 

माओवादी केन्द्रले सँधै ओलीमाथि भ्रष्टाचारी र विचौलिया संरक्षक भन्दै गम्भीर आरोप लगाउने गरेको छ । र, यो सरकार निर्माणको जग पनि भ्रष्टाचारी र बिचौलियासँगै जोडिएको माओवादीले आरोप लगाउने गरेको छ । ओली–प्रचण्ड जुहारीमा प्रचण्डले सँगै यही यस्तै अन्य आरोपहरु प्नि दोहोर्याउने गरेका हुन् । 

उता एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रचण्डविरुद्ध जवाफी आक्रोश पोख्ने गरेका छन्  । ओली र प्रचण्डबीच पछिल्लो केही दिन यतामात्रै पटक पटक सार्वजनिक रुपमा दोहोरी चल्ने गरेको देखिन्छ । यही क्रममा पछिल्लो समय ओलीले माओवादी  र प्रचण्डमाथि झुट र बेइमानीको आरोप लगाउने गरेका छन् । 
 
त्यस्तै प्रधानमन्त्री ओलीले काग्रेस र एमाले समीकरणलाई स्थायित्व र स्थिर सरकारका लागि मिलेको दावी गर्दै माओवादीलाई अनुचित तत्वको रुपमा परिभाषित गर्ने गरेका छन् । यो पनि प्रचण्डले लगाउने गरेका आरोपहरुविरुद्धको ओलीको अर्को काउन्टर हो । 

ओली प्रचण्डको यी सार्वजनिक अभिव्यक्तिले राजनीतिमा मात्रै नभइ दुई नेताको व्यक्तिगत सम्बन्धमै खलल पुग्नसक्ने खतरासमेत देखिन्छ । पछिल्लो समय बाक्लै र गम्भीर प्रकृतिका आरोप प्रत्यारोप छताछुल्ल हुँदा एमाले र माओवादी कार्यकर्ता स्तरमा समेत बेमेलताको वातावरण सृजना हुनसक्ने खतरा पैदा भएको छ । 

पटक–पटक मुलुकको नेतृत्व गरिसकेका दलका नेताहरु नागरिक र देशकोे चिन्ता भन्दा दलीय मुद्धामा मात्रै तल्लो स्तरमा ओर्लिएर भिड्नु समग्र देशकै लागि दुखःको विषय बन्नसक्छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update