काठमाडौं । मंसिर १६ गते सम्पन्न भएको स्थानीय तहको उपचुनावमा नेकपा एमाले कमजोर अवस्थामा देखियो । स्थानीय तहमा भएको केही कमजोरीको आंकलन गर्दै एमालेले राष्ट्रिय कार्यशाला सञ्चालन गरेको छ ।
स्थानीय तहमा पार्टीे कामको समिक्षा र समाधानका विषयमा केन्द्रीय संगठन विभागले नै दुई दिने कार्यशाला सञ्चालन गर्यो । केन्द्रले पार्टीको स्थानीय तह समस्या देख्दा स्थानीय नेता कार्यकर्ताले भने जनअपेक्षा अनुसार नेतृत्वले काम नगरेको गुनासो गरेका छन् ।
अन्य पार्टीकोको तुलनामा एमाले बलियो संगठन भएको पार्टी भनेर चिनिन्छ । पार्टी विभाजनकै बेलासमेत कांग्रेस–माओवादीसहितको पाँच दलीय गठबन्धनका बाबजुद पनि संघ प्रदेश र स्थानीय तहको निर्वाचनमा एमालेले राम्रै नतिजा आफ्नो पक्षमा पारेको थियो । तर मंसिर १६ गते भएको स्थानीय तह उपचुनावमा एमालेको सन्तोषजनक नतिजा आउन सकेन ।
एमालेको संगठनहरु पछिल्लो समय भुत्ते बन्दै गएका छन् । युवा र विद्यार्थी नेताहरु पनि पार्टीमा रक्षात्मक देखिन थालेका छन् ।
पार्टीका शीर्ष नेताहरुले पार्टी जिवनमा समस्या आएको टिप्पणी गरिरहेका छन् । पार्टीको नीति जनतासम्म पु¥याउन तथा वैचारिक राजनीतिक सङ्घर्षमा जनतासँग संवाद गर्न नसकिएको स्वीकारोक्ति छ । तर पार्टी जीवनमा समस्या आउनु पछाडि ठोस कार्ययोजना र परिणाम निकाल्ने काम गर्न नसकेको प्रदेश तथा जिल्ला तहका नेता कार्यकर्ताको बुझाई छ ।
प्रमुख दुई ठूला दलको गठबन्धन सरकारले जनमुखि काम गर्न नसक्दा जनतामा निरासा छाएको छ । जनताले परिणाम खोजिरहेकै अवस्थामा मन्त्रीहरुको कार्यसम्पादन पनि राम्रो नभएको एमाले कार्यकर्ताहरुको गुनासो छ । त्यसैले कार्यसम्पादन राम्रो नभएका मन्त्रीहरु फेरिनु पर्ने सुझाव युवा नेता कार्यकर्ताहरुको छ ।
राम्रा कामको पनि नकरात्मक तरिकाले व्याख्या भएको भन्दै त्यसलाई चिर्न सक्नु पर्ने कतिपयको बुझाइ छ । संसदीय व्यवस्थामा सरकारलाई जवाफदेही बनाउनकै लागि सशक्त प्रतिपक्षी दलको आवश्यकता ठानिन्छ ।
विपक्षीले सरकारको जवाफदेहिता खोज्ने मात्र होइन, नागरिकको सरकारप्रति वितृष्णा बढ्दै जाँदा सरकारको नेतृत्व गरेको एमालेले नै सरकारको सुशासनको पक्षमा भन्दै सभा सम्मेलनदेखि शक्ति प्रदर्शनको प्रयास समेत गरेको थियो ।
सरकार प्रति विपक्षीको आलोचनालाई सकारात्मक सुझावका रुपमा ग्रहण गरी जवाफदेहि बन्नुको सट्टा अरुलाई दोष थुपार्ने प्रवृत्तिले एमाले नेतृत्व पंक्ति झनै आलोचित बनिरहेको छ ।
त्यसैले नेतृत्वको कार्यशैलीलाई सच्याउँदै अघि बढ्न सकेमा मात्रै पार्टी जीवनमा समस्या समाधान हुने कार्यकर्ताको सुझावलाई मनन् गर्न जरुरी छ । अन्यथा एमालेको आगामी यात्रा अझै ओरालोतर्फ लाग्ने निश्चित छ ।
