News 24 Television
ओलीले गर्न थाले यस्ता–यस्ता कुरा ! अब एमालेमा के हुँदैछ ?

काठमाडौं । नेकपा एमालेले आफूलाई राष्ट्रिय शक्तिको रुपमा दाबी गर्दै आएपनि पार्टी जीवनमा समस्या देखिन थालेको बताउन थालेको छ । 

उपचुनावदेखि यहाँसम्म आइपुग्दा एमालेले पार्टीप्रति जनताले विश्वास देखाउन नसकेको बताइरहेको बेला किन एमाले यस्तो स्थितिमा पुग्यो भन्ने प्रश्न थप पेचिलो बनेको छ । 

उपचुनावमा उल्लेख्य नतिजा प्राप्त गर्न नसकेपछि एमालेले जनमत एमालेतर्फ किन आएन भन्ने विषयलाई विभिन्न कोणमा राखेर समीक्षा गरिरहेको छ । 

एमालेले स्थानीय तहमा परिणाम अपेक्षा गरेअनुसार नआउनुमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिले जनताको काम गर्न नसक्नु, नेताहरु जनता केन्द्रित बन्न नसक्नु र पार्टी र नेतृत्वप्रति भ्रम फैलाउने काम तीब्र गतिमा हुनुलाई कारण मानेको छ । तर, के एमाले यति कारण मात्रै यस्तो स्थितिमा पुग्यो त ? यसको समिक्षा जनताले समेत गरिरहेका छन् । 

जनमतमा उल्लेख्य संख्या वृद्धि नहुनु र माओवादी केन्द्रले एमालेभन्दा ज्यादा मत प्राप्त गर्नुलाई पनि एमालेले गम्भिर रुपमा लिएको छ । 

यहि कारण हुनुपर्छ, एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि प्रहार गर्न थालेका छन् । ओलीले प्रचण्डले एमाले र आफूविरुद्ध भ्रमण फैलाउने काम गरिरहेको भन्दै छुद्र टिप्पणी गरेका छन् । 

ओलीले यतिमात्रै नभई एमाले राजनीति मात्रै होइन कि देशको विकास गर्न बनेको पार्टी भएको जिकिर समेत गरिरहेका छन् । उनले एमालेबाहेकले देश बनाउन नसक्ने जिकिर गर्दै एमालेमाथि जनताको ध्याणाकर्षण गराउन अनेक अस्त्रको प्रयोगमा ध्यान दिन थालेका छन्। ओलीले यतिमात्रै नभई पार्टी जीवनबारे समेत टिप्पणी गरेका छन् । एमालेका नेताहरुले समेत गल्ती औल्याउने काम गर्ने, समाधान भने नदिने गरेका कारण पनि समस्या सिर्जना भएको ठोकुवा गरेका छन् । 

ओलीले आफूलाई माथि देखाउने प्रवृ्ति पनि पार्टीका लागि घातक सिद्ध भएको दाबी गर्न थालेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको उदाहरण दिदै उनले आफ्नो नेतृत्वमा गोलबन्द हुनुपर्नेमा समेत सचेत गराइरहेका छन् ।

ओलीले यस्तो दाबी गर्दै गर्दा महासचिव शंकर पोखरेलले पनि पार्टी जीवनमा समस्या देखिएको प्रष्ट पारेका छन्  । 

संगठन विभागको कार्यक्रममा पोखरेलले पार्टीमा अहिले भइरहेको कामले जनतामा स्थापित हुने र राष्ट्रिय शक्ति निर्माण गर्ने लक्ष्य पुरा नहुने जिकिर गरेका छन्, भने उपमहासचिव समेत रहेका सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले पनि पार्टीको विकासक्रमलाई सहि दिशा दिन नसकेको भनेका छन् । 

पार्टी नेतृत्वविरुद्ध घेराबन्दी बढेपछि आमसभादेखि अन्य कार्यक्रममा जनसहभागिता कमी हुन थालेको जिकिर गरेका  छन् । 

यसरी एमालेभित्र जनतामा आकर्षण घटेको विश्लेषण र समिक्षा चलेपनि त्यसका ठोस कारण र निदानको विषयलाई भने केन्द्रमा राख्न खोजेको देखिन्न । 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update