काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावट विद्युत आयात गर्न लागिएको बताएका छन् । मन्त्री खड्काले नेपाल भित्रको आन्तरिक विद्युत आपूर्तिलाई सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावट विद्युत खरिद गर्न लागिएको बताएका हुन् ।
हिँउदमा विद्युत आपूर्ति सहज बनाउनका लागि भारतसँग साढे ६ सय मेगावट विद्युत आयात गर्ने सहमति भएअनुरुप पुस महिनादेखि नै खरिद गरिने उनले बताए । गत वर्षको बाढीले जलविद्युत आयोजनाहरुमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीका कारण लोडसेडिङ हुन नदिन भारतसँग विद्युत खरिद गर्न लागिएको उनकाे भनाइ छ ।
सरकारले क्षति भएका आयोजनाहरुको निर्माणमा तिब्रता दिएको भन्दै मन्त्री खड्काले विद्युत माग र आपूर्ति सहज बनाउने विषयमा गम्भिर रहेको बताए । गत वर्षको भन्दा साढे ३ सय मेगावट जति यस वर्ष उत्पादन थप हुने र हिउँदामा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने उनकाे भनाइ छ ।
मन्त्री खड्काले भने, ‘भारत भ्रमणको समयमा भारतका मन्त्री र सचिवसँग वृहत छलफल भएर सुख्यायाममा साढे ६ सय मेगावट विद्युत खरिद गर्ने निर्णय भयो । पुस देखि लागू गर्दछौं । गत वर्षको बाढीले जलविद्युत आयोजनाहरुमा धेरै क्षति भयो । क्षति भएका आयोजनाहरुको निर्माणमा तिब्रता दिएका छौं । विद्युत माग र आपूर्तिको विषयमा सरकारले हिसाव गरेको छ । गत वर्षको भन्दा साढे ३ सय मेगावट जति यस वर्ष उत्पादन थप हुने र हिउँदामा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने छ । सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएका छौं । बेलुका साँझको बेला भारतले चार घण्टा दिन सकिदैन भनेको छ । भारतका ऊर्जा मन्त्री नेपालमा आउने कुरा छ । उहाँ आएको बेला नेपालको माग र आपूर्तिलाई हिसाव गरेर दुई घण्टामा छोट्याउन सक्छौं । यसरी विद्युत माग र आपूर्तिलाई सम्बोधन गर्ने गरी तयारी छ । केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान छ । तर विगतको जस्तो अहिले पनि फरक पर्ने स्थितिमा छैनौं । विगतमा ९ सय मेगावटसम्म आपूर्ति गर्ने गरेका थियौं । साढे ६ सय मेगावट आपूर्ति गर्ने भयौं । नेपालभित्रै साढे ३ सय मेगावट थप हुने भयो । यसले विद्युत सप्लाईलाई खासै ठूलो असर पर्दैन ।’
