काठमाडाैँ । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
यस्तै, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा कास्कीका डा. राजेन्द्रप्रसाद बराल र भोजपुरका दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको पनि उनले बताए ।
सरकारले राष्ट्रिय शहरी नीति, २०८१ स्वीकृत गर्ने निर्णय समेत गरेको छ । सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अभिसन्धिको समितिसमक्ष नेपालले पेश गर्नुपर्ने चौथो आवधिक प्रतिवेदन स्वीकृत गर्ने निर्णय पनि भएको प्रवक्ता गुरुङले जानकारी दिए ।
उनका अनुसार सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१, लघु, घरेलु तथा साना उद्योग प्रवर्धन नीति, २०८१ र औद्योगिक तथा लगानी प्रवर्धन कोष सञ्चालन कार्यविधि समेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै मंसिर २७ गते बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानून आयोगको सचिव पदमा र नेपाल कानून आयोगका सचिव पाराश्चर ढुङ्गानालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ ।
