News 24 Television
भारतीय सीमा र हुस्सु लाग्ने ठाउँमा बनाइएको विमानस्थलमा प्रविधिकै समस्या !

काठमाडौँ । सरकारले काठमाडौँस्थित एक मात्र व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मत सम्भारको काम सुरु गरेसँगै उडान कटौती भएको छ । समानान्तर ट्याक्सी वे निर्माण लगायत कामका लागि हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिँदै आएको छ । यससँगै सरकारले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा देशी–विदेशी वायुसेवा कम्पनीहरुलाई उडान गर्न फोर्स अनुरोध नै गरेको थियो । केही वायुसेवाले उडान सुरु गरे पनि त्यहाँको प्राविधिक समस्याका कारण उडान नियमित हुन सकेको छैन । भैरहवा विमानस्थल नियमित सञ्चालनमा आयो भनिएको दुई महिनामै वायुसेवा कम्पनीहरूले उडान रोक्न थालेका छन् । उतिबेला पर्याप्त अध्ययनविनै बनाइएको यस विमानस्थलमा विभिन्न त्रुटि रहेको विज्ञहरू बताउँछन् । सोही कारण अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले नियमित उडान गर्न नसकेका हुन् ।

पूर्वाधारको पनि प्रशस्त विकास भइनसकेको भैरहवा विमानस्थलमा सबैभन्दा ठूलो समस्या भिजिबलिटीको रहेको पाइन्छ । जाडोको मौसममा यहाँ बिहानदेखि दिउँसोसम्मै बाक्लो हुस्सु लाग्ने गरेका कारण विमानस्थलको भिजिबलिटी कम हुन्छ, जसका कारण ठूला विमान अवतरण गर्नैै सक्दैनन् । तर त्यस्तो न्यून भिजिबलिटीमा पनि ठूला विमान अवतरण गर्न सकिने प्रविधि सञ्चालनबारे सरकारले गम्भीरता नदेखाएको र हचुवाको भरमा विमानस्थलमा जबरजस्ती उडान थोपर्न लगाएको आरोप लाग्ने गरेको छ ।

भैरहवा विमानस्थल बनाउने बेलामै त्रुटि भएको, उपयुक्त स्थान छनोट हुन नसकेको, पर्याप्त अध्ययन र दीर्घकालीन रणनीति नभएको तथा हुस्सु लाग्ने ठाउँमा विमानस्थल सञ्चालनका लागि हुनुपर्ने प्रविधि नभएको भन्दै विज्ञहरु यो विमानस्थल दीर्घकालीन सञ्चालन गर्न कठिन हुने बताउँछन् । उनीहरुका अनुसार १ हजार ८०० मिटरभन्दा न्यून भिजिबलिटी हुँदा ठूला विमानहरू अवतरण गर्न सक्दैनन् । भैरहवा विमानस्थलमा बिहानको समयमा र कहिले त शीतलहरका कारण दिनभर नै हुस्सु लागेर योभन्दा कम भिजिबलिटी हुने गरेको छ ।

गत मंसिर १३ गते नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालिन रुपमा सञ्चालन गर्न चुनौती नै रहेको स्वीकार्दै यसका लागि राज्यका सबै संयन्त्र लाग्नुपर्ने बताएका थिए । सरकारले सबैभन्दा पहिला हवाई ट्राफिक व्यवस्थापनका लागि भैरहवा र पोखरामा उडान गर्नुपर्ने नीति बनाउन आवश्यक रहेको उनको भनाइ थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारले बनाएकाले चीनले काठमाडौंमा गर्दै आएको उडानको २५ प्रतिशत उडान पोखरामा गर्न लगाउनुपर्ने तथा नेपाल र हिमालय एयरलाइन्सलाई पनि पोखरा र भैरहवा विमानस्थलमा एक–एक उडान गर्नुपर्ने मापदण्ड सरकारले बनाउनुपर्ने उनको धारणा थियो । अहिले डण्डा लगाएर भैरहवा विमानस्थलमा उडान गर्न वायुसेवाहरुलाई बाध्य पारेको उनको दाबी भए पनि त्यो उडान दीर्घकालीन हुन सकेन । 

राज्यले शक्ति देखाउँदा कम्तीमा अहिले ६ वटा एयरलाइन्सहरुले भैरहवा विमानस्थलबाट उडान गरेको भए पनि प्राविधिक समस्याकै कारण कतिले उडान रोकिसकेका छन् भने कति रोक्ने तयारीमा छन् । भैरहवामा नियमित विमान उडाउनका लागि कम भिजिबलिटीमा पनि अवतरण गर्न सकिने ‘आईएलएस’ प्रविधि सञ्चालनमा ल्याउनुपर्ने विज्ञहरुको सुझाव छ । हुस्सुका बेला अवतरण सम्भव बनाउने ‘आईएलएस’ प्रविधि उक्त विमानस्थलमा जडान गरिएको भए पनि यसको प्रयोग गर्न सकिएको छैन । भारतसँग यसबारे अनुमति लिन समेत नसकिएकाले सञ्चालन गर्न नसकिएको प्राधिकरणकै अधिकारी बताउँछन् । 

भारतीय सीमाभन्दा दुई किलोमिटर मात्रै नेपाली भूमितर्फ रहेको यो विमानस्थलमा आईएलएस प्रविधिबाट विमान अवतरण गर्दा कतिपय अवस्थामा विमानहरू भारतीय हवाई क्षेत्रमा पुग्ने अवस्था आउँछ । तर यसरी अनुमतिविना भारतीय आकाशमा विमान पस्दा जोखिम बढ्ने अधिकारीहरु बताउँछन् । अघिल्लो साल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भैरहवामा आइएलएस सञ्चालनबारे कुरा गरेको प्रचार भए पनि भारतले अहिलेसम्म उक्त प्रविधि सञ्चालनको अनुमति दिएको छैन । 
 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update