काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले थप ४ दिनको म्याद थप गरेको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपनि अदालतमा अभियोजनको काम भएको छैन । यस्तोमा अब रविविरुद्धको अभियोजन र रास्वपाको राजनीति कसरी अघि बढ्ला भन्ने विषय थप चासोमा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा छन् । अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रविले न्यायाधीशसमक्ष आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भनिरहेका छन भने बाहिर बसेरै मुद्दा लड्न दिन आग्रह गरिरहेका छन् । तर, अदालतले अनुसन्धानका लागि धमाधम म्याद थप गरिरहेको छ ।
यस्तोमा रविविरुद्ध कास्की प्रहरीले मंगलबारमात्रै ४ दिनको म्याद थप गरेको छ । रविले इजलासमा आफूलाई बाहिर राख्दा के प्रमाण नष्ट गर्थे र श्रीमान भन्दै प्रश्न गरेको बताइन्छ भने न्यायाधीशले मुस्काउँदै अनुभव हुन्छ भन्दै म्याद थप गरेको स्थिति छ ।
यस्तोमा प्रहरीले रविविरुद्ध विभिन्न तीन अभियोगमा मुद्दा दर्ता गर्न सरकारी वकिलको कार्यालयमा राय पेश गरेको छ भने सरकारी वकिलको कार्यालयले अध्ययनको क्रममा रहेको बताएको छ ।
आरोपमा के के छन ?
रविविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण आरोपमा मुद्दा दर्ता गराउन राय पेश गरेको छ ।
रविले गोरखा मिडिया प्रालीमा रहँदा विभिन्न सहकारीबाट आएको रकम प्रयोग गर्न चेक काटेको जिकिर लिइएको छ भने सहकारीको ऋण तिर्न समेत उनले चेक काटेको पाइएको छ ।
यस्तै, सम्पत्ति शुद्धिकरणमा पनि उनको खातामा अस्वभाविक कारोबार भएको प्रहरीको जिकिर छ । तर, यसमा रवि पत्नी निकिता पौडेल लामिछानेको खातामा भएको कारोबारको विषयलाई समेत समेटिएको छ ।
उनको खातामा आएको रकमको स्रोत खुल्न नसकेको र खर्चको स्रोत समेत खुल्न नसक्ने भनिएको छ । यसरी नै सहकारी ठगीमा धेरै जना मिलेर अपराध गरेको भन्ने जिकिरसहित संगठित अपराधको मुद्दा दायर गर्ने गरि राय पेश गरेको छ । सम्पत्ति शुद्धिकरणमा रवि र निकिताको बैंक खातामा अस्वाभाविक कारोबार भएको प्रहरीको दाबी छ ।
रवि दम्पतीका नाममा सञ्चालनमा रहेका १७ वटा बैंक खाताबाट सन् २०१६ यता झण्डै २९ करोडको कारोबार भएको बताइएको छ । तर, निकिताले यो विषयलाई भने निराधार भनेकी छन् ।
सामाजिक सञ्जालबाटै खातामा भएको कारोबारको रकमबारे निकिताले प्रतिवाद गर्दै सत्यतथ्य बाहिर गएर आफुहरुमाथि मिडिया ट्रायल भएको आरोप लगाएकी छन् ।
रास्कोट अस्पताल पनि तानियो
रविले आफ्नो नामबाट फाउन्डेसन बनाएर सर्वसाधारण, स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारबाट समेत रकम लिएर बनाएको रास्कोट अस्पतालमा समेत आर्थिक अनियमितता भएको आरोप लगाइएको छ ।
रास्कोट अस्पताल निर्माण गर्दा रवि र निकिताको बैक खातामा अस्वभविक र गैरकानूनी रकम ट्रान्सफर भएको आरोपपछि रास्कोट अस्पतालमा जोडिएका रास्वपाका पूर्वमहामन्त्री डा. मुकुल ढकालले रवि, निकिता, आफू र दीपक बोहोरा लगायतमाथि अनुसन्धानको माग गरेका छन् । ढकालले अनियमितता आफूबाट नभएको दाबी गर्दै रविमाथि शंका रहेको भने उल्लेख गरेका छन् ।
नेतृत्वको सवालमा रास्वपा
रवि लामिछानेविरुद्ध गम्भीर प्रकृतिका अपराध आरोपमा अनुसन्धान चलिरहँदा पनि रास्वपाले कार्यबाहक सभापति नै पाउन सकेको छैन् ।
रास्वपामा निकिताले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न थालेको हल्लासँगै रास्वपाका नेताहरु पछिल्लो समय आन्दोलनको नामै सुन्न नचाहने स्थितिमा पुगेका छन् ।
अदालतविरुद्ध आन्दोलन गरेको भन्ने सन्देश गएपछि हच्किएका नेताहरुले अब रविविरुद्धको थुनछेक बहस कुर्ने तयारी गरिरहेका छन् । तर, रास्वपाभित्र तीब्र ध्रुबिकरण भइरहेको बताइन्छ ।
दुई चिरा बनेपछि रास्वपाको आन्तरिक राजनीति पनि पेचिलो बन्ने देखिन्छ भने रवि पूर्पक्षका लागि थुनामा गएमा अर्को संकट आइलाग्नेछ ।
यता बाहिर बसेरै मुद्दा लड्ने स्थिति बनेमा पनि मुद्दा चलिरहेकाले रास्वपालाई राजनीतिक बाटो तय गर्न कठिन हुनेछ । यस्तो स्थितिका कारण पनि नेतृत्वको सवाल रास्वपामा जबरजस्त बन्न पुगेको छ ।
