काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जातपातलाई समाज व्यवस्थित गर्ने क्रममा पलाएको ऐंजेरुको रुपमा चित्रण गर्दै जरै उखेलेर फाल्नुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा नेपाल उत्पिडित जातिय मुक्ति समाजको ३७ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले सबैभन्दा पहिला मानिस हौँ भन्ने कुरा बुझ्न जरुरी रहेको बताए । मानिस सबै बराबर हुने बताउँदै प्रधानन्त्रीले जातपात नचाहिने कुरा भएकाले फाल्नुपर्ने बताए ।
एउटा समाजलाई व्यवस्थित गर्ने क्रममा ठिक तरिका छान्न नसक्दा जातपातका रुपमा गलत तरिका प्रवेश गरेको उनकाे भनाइ छ । जातियता, साम्प्रदायिकता, छुवाछुत घिनलाग्दो कुरा भएको बताउँदै उनले जातपात र छुवाछुतलाई फेदैमा लुछेर फालिदिनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘ हामी मानिस हौँ, पहिलो कुरा । जसले हामी मानिस हौँ भन्नेकुरा बुझ्दैन, अनि बाँकी के बुझ्छ त ? मानिस हौँ, मानिस भनेको बराबर हुन्छ । जातपात नचाहिने कुरा हो । यो एउटा समाजलाई व्यवस्थित गर्ने क्रममा कसरी गर्ने भन्दा विकासको क्रममा ठिक तरिका छान्न नसक्दा गलत तरिका कहिले कहिले प्रवेश गरे । यस्तै यो गलत तरिका हो । सामाजिक व्यवस्थापनको यो सन्दर्भमा त्यो बिरुवालाई हुर्काउनुपर्ने बेलामा पलाएको ऐंजेरु हो यो । जातियता, साम्प्रदायिकता, छुवाछुत घिनलाग्दो कुरा हो । यस्तो ऐंजेरु भएपछि काँडादार हुन्छ, त्यसले छिटो घोच्छ, घोचिरहेको छ समाजलाई । यो ऐंजेरु नै हो, यसलाई फेदैमा लुछेर फालिदिनुपर्छ । हामीले तत्सम्बन्धमा प्रयास गरेका छाैँ ।’
