काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उखान र टुक्काबाट व्याङ्ग्य गर्न माहिर छन् । उनी सहकर्मी, विपक्षी दलका नेता र जो कोहीमाथि पनि उखान र टुक्काको साहारामा कडा व्याङ्ग्य कस्ने गर्छन् ।
ओलीको यो फरक शैली र विशेषतामा धेरैजसो कार्यकर्ता र सर्वसाधारणसमेत रम्ने गरेको पाइन्छ । यद्यपि बेलाबखत ओली उनको यही शैलीको कारण आलोचित पनि बन्ने गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्ना समकालीन नेताहरुमाथि व्याङ्ग्य खर्चिने गरेकमा पछिल्लो समय भने काठमाडौं महानगरका मेयर बालेन शाहमाथि पनि केही व्याङ्ग्यात्मक टिप्पणी गर्न थालेको देखिन्छ ।
हुनत प्रधानमन्त्री ओली र काठमाडौं महानगरका मेयर बालेन शाहबीचको सम्बन्ध सुरुका दिनदेखि नै खास राम्रो देखिँदैन ।
महानगरले सुकुम्बासी बस्ती हटाउनका लागि डोजर चलाउँदा ओलीले बालेनलाई कर्कलो फाँड्न जाँदा बञ्चरो लिएर जाने ? भन्दै व्याङ्ग्य गरेका थिए ।
बालेन–ओली विवादका केही कारणहरु
एमाले नेतृत्व र बालेनबीच महानगरका फुटपाथ र सुकुम्बासी बस्ती हटाउने विषयदेखि नै खटपट देखिन्छ । यस्तै बालेनले मेयरमा निर्वाचित भएयता एमालेले उठाएका विषयहरुमा विमत्ति राख्नु पनि ओली बालेनबीचको द्वन्द्वको कारण हो ।
यही कारण एमाले र बालेनबीच श्रृङ्खलाबद्ध रुपमा दोहोरी चल्ने गरेको हो । पछिल्लो समय गिरी–बन्धु प्रकरण, सडक विभागको गेटमा फोहोर फालेको प्रशंग, धरहराको पार्किङ विवाद, न्यूरोडको फुटपाथ व्यवस्थापनमा एमालेको अवरोधदेखि एमालेले मंसिर ७ गते आयोजना गरेको खबरदारीसभा सम्म आइपुग्दा ओली–बालेनबीच धेरै नै टकराब भइसकेको छ ।
यहीबीचमा एमालेको खबरदारी सभापछि दरबारमार्गमा फोहोर गरेको भन्दै बालेनले एमालेलाई एक लाख जरिवाना तोकेको प्रकरणले पनि राजनीतिक वृत्तमा तरङ्ग ल्याएको थियो ।
चिरिबाबु र बालेनमाथि ओलीको फरक दृष्टिकोण
मंगलवार ललितपुर महानगरपालिकाले १०६औँ स्थापना दिवसको मनायो । महानगर प्रमुख चिरिबाबु महर्जनले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुनेगरी काम गरिहरहेको दावी गरेका थिए । तर चिरिबाबुले ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने सडक निर्माणमा केन्द्र सरकारले चासो नदिँदा लज्जित बनाएको औल्याउँदै आवश्यक सहयोगको याचना गरे ।
महानगरको स्थापना दिवसमा प्रधानमन्त्री ओली समेत प्रमुख अथितिका रुपमा उपस्थित भएका थिए । यही अवसरमा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले ललितपुर महानगरको प्रशंशा गर्दा काठमाडौं महानगरका मेयर बालेनमाथि भने व्याङ्ग्य कसे ।
ललितपुरका प्रहरी सम्मानित हुँदा काठमाडौं महानगरका प्रहरीबाट भने नागरिक त्रशित हुनुपर्ने अवस्था रहेको औल्याएका छन् । बालेनविरुद्ध ओली यतिमा मात्रै रोकिएका छैनन् । बालेनले हठ र पदीय मर्यादा नाघ्न खोजेको पनि ओलीले इंगित गर्न खोजेका छन् ।
हुनत काठमाडौं महानगरले पनि केही दिन अघि मात्रै आफ्नो स्थापना दिवस मनाएको थियो । उक्त कार्यक्रमको अवसरमा उपराष्ट्रपतिलाई प्रमुख अथितिका रुपमा बोलाइएको थियो । तर बालेनले प्रधानमन्त्रीलाई भने आमन्त्रण गरेको पाइएको थिएन । जबकी गत वर्षको स्थापना दिवसमा बालेनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अथिति बनाएका थिए । यी तथ्य र गतिविधिहरुले पनि ओली र बालेनबीचको टसल उत्कर्षमा रहेको भन्न सकिन्छ ।
यसैको संकेतस्वरुप ओली समकालीन नेताहरुमाथि सँधै व्याङ्ग्य कस्ने गरेकामा अहिले विविध चरण र कोणबाट बालेनमाथि घुमाउरा व्यांग्य कस्ने गरेका छन् ।
यस्तैमा ललितपुर महानगरका मेयर चिरिबाबुमाथि सकारात्मक टिप्पणी गर्ने ओली स्वतन्त्र निर्वाचचित बालेनमाथि भने सँधै आक्रोस र क्रोध पोख्ने गरेका छन् । यसका आधारमा पनि बालेन र चिरिबाबुमाथि प्रधानमन्त्री ओलीको धारणा फरक–फरक देखिन्छन् ।
