काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जान लागेको चर्चा चलिरहँदा परराष्ट्रमन्त्री आरजु राणा भारत पुगेकी छन् । एकसाता अघि युरोप पुगेकी परराष्ट्रमन्त्री राणा त्यतैबाट भारत पुग्नुलाई प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीमा रुपमा लिइएको छ । नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्री राणा इन्डो–नेपाल इकोनोमिक कन्फरेन्समा सहभागि हुनेछिन् भने भारतीय समकक्षी एस जयशंकरसँग समेत भेट्ने तयारीमा छन् ।
यौनिक र लैङ्गिक अल्पसंख्यकहरुको अधिकार सम्बन्धि सम्मेलन सहित अन्य विभिन्न कार्यक्रममा भाग लिन परराष्ट्रमन्त्री आरजु राणा एक साता अघि नै युरोप पुगेकी थिइन् ।
नेदरल्याण्ड्स, जर्मनी, लक्जेमबर्ग लगायतका देशहरुको भ्रमण पछि उनी बुधवार उतैबाट भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् ।
दिल्लीमा रहँदा राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग पनि भेट्ने सम्भावना रहेको छ ।
आरजु परराष्ट्रमन्त्रीको रुपमा दोस्रो पटक भारत भ्रमणमा छिन् । यसअघि पनि उनी स्वास्थ्य उपचारको बहानामा भारत जान लागेकी थिइन् । तर पछि उनको भ्रमणलाई औपचारिक भ्रमणमा परिवर्तन गरिएको थियो ।
भ्रमण किन चर्चामा ?
परराष्ट्रमन्त्री राणा भारत पुगे लगत्तै यसको नेपालमा विभिन्न कोणबाट चर्चा परिचर्चा शुरु भएको छ । उनको यो पछिल्लो भ्रमणलाई प्रधानमन्त्री ओलीको भारत भ्रमणको चाँजोपाँजो मिलाउने तयारीको रुपमा बुझिएको छ ।
यसअघि पनि परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीको भारत भ्रमण मिलाउने जिम्मेवारी सहित नयाँ दिल्ली पुगेकी थिइन् । तर त्यतिबेला भारतीय संस्थापन पक्षले प्रधानमन्त्री ओलीप्रति खासै चासो देखाएन ।
प्रधानमन्त्री ओली चीन अघि नै भारतको औपचारिक भ्रमण गर्न चाहन्थे । तर भारतको वेवास्ताका कारण ओलीले पछिल्लो प्रधानमन्त्री कार्यकालको पहिलो औपचारिक विदेश भ्रमण चीनबाट गरे । चीनबाट फर्र्किएपछि प्रधानमन्त्री ओलीले भारतको पनि भ्रमण गर्ने सार्वजनिकरुपमै बताएका थिए ।
तर पनि प्रधानमन्त्री ओलीप्रति भारतीय संस्थापन पक्षले खासै महत्व दिइरहेको छैन । यस्तो अवस्थामा जर्मनी हुँदै भारत पुगेकी परराष्ट्रमन्त्री राणाको दिल्ली यात्रालाई नेपाल–भारत सम्बन्ध सुधार र प्रधानमन्त्री ओलीको आगामी सम्भावित भ्रमणको तयारी भन्दै चासोका साथ हेरिएको छ ।
ओलीलाई हतार किन ?
प्रधानमन्त्री छँदै केपी शर्मा ओली औपचारिक भारत भ्रमण गर्न चाहन्छन् । धेरै कुरामा भारतसँग निर्भर रहेकै कारण नेपाली राजनीतिमा प्रत्यक्ष अप्रत्यक्ष भारतीय हस्तक्षेप चल्छ । सरकार फेरबदलदेखि राजनीतिक घटनाक्रमहरुमा पनि भारतको माइक्रो म्यानेजमेन्ट रहने गरेको छ ।
त्यसैले पनि नेपालमा सत्तामा टिक्न वा राजनीतिमा स्थापित हुन भारतीय संस्थापन पक्षको निकटता नेपालमा अघोषित अनिवार्यता जस्तै बनिसकेको छ । यही मेसोमा भारतीय संस्थापनबाट टाढा हुँदै गएका ओली जसरी पनि प्रधानमन्त्री रहेकै बेला भारत भ्रमण गरेर आफु भारतीय संस्थापनको नजिकै रहेको सन्देश दिन चाहन्छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण र बीआरआई सम्झौताबाट पनि भारत खुशी छैन, त्यसैले भारत भ्रमण गर्दै प्रधानमन्त्री ओली नेपाल भारत सम्बन्धलाई सन्तुलनामा ल्याउने प्रयासमा छन् ।
ओलीको अडान भारतलाई झड्का !
केही आफ्नै कारण र लिएका अडानहरुका कारण ओलीप्रति भारतीय संस्थापन पक्ष टाढा देखिएपनि कतिपय सवालमा ओलीले लिएका अडानहरु राष्ट्रियताका सवालमा सकरात्मक नै छन् । भारत प्रधानमन्त्री ओलीसँग रुष्ट देखिनुको कारण नेपालको पछिल्लो राजनीतिक निर्णय, कूटनीतिक प्राथमिकता र भू–राजनीतिक सन्तुलन मुख्य कारण हुन् ।
ओलीकै नेत्तृत्वमा जारी भएको नेपालको नयाँ राजनीतिक नक्सा, चीनसँगको बढ्दो सम्बन्ध, संविधान जारी गर्दा भारतको चासोलाई वास्ता नगर्नु र सीमा मिचिएको विषयमा ओलीले लिने अडानका कारण भारत रुष्ट देखिदै आएको हो ।
