काठमाडौं । बृहत्त बाम एकताको अवधारणा अघि सार्दै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता लामो समय टिक्न सकेन । तत्कालिन नेकपाको विघटनपछि पनि कम्युनिस्ट घटकहरु एकताको पहल जारी नै राखेका छन् ।
पार्टी एकता गर्ने लक्ष्यका साथ समाजवादी मोर्चा सक्रिय पारिए पनि सबै प्रयासहरु निश्प्रभावी बन्दै गएका छन् । पछिल्लो समय एकताको नजिक पुगेका दलहरु पनि पुनः टाढिएका छन् ।
पार्टी एकता गर्ने समझदारीअनुसार नै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले ७९ सालको संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिन्ह लिएर चुनावमा भाग लिएको थियो ।
माओवादी चिन्हबाट नै महिन्द्रा राय यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । तर निर्वाचनपछि एकता प्रक्रिया भाँडिएपछि यादवले बाबुरामको पार्टी नै फुटाएर आफ्नो समूह एकताका लागि अघि बढ्यो । तर पार्टी एकता गर्ने निर्णय गरेको १० महिना बढी भइसक्दा पनि एकता प्रक्रिया अघि बढ्न सकेन । महिन्द्रा समूह मात्र होइन, नेत्रविक्रम चन्द विप्लव समूह पनि माओवादी केन्द्रसँगको एकताको नजिक पुगेको थियो । विप्लव नेकपासँगको एकताको चर्चाकाबीच माओवादी केन्द्र नै फुट्ने सम्भावना बढ्यो ।
विप्लवलाई महासचिव बनाउने प्रचण्डको योजनामा माओवादी पदाधिकारीहरु नै रुष्ट बनेपछि एकता प्रक्रियाअघि बढ्न सकेन । हालै कपिलवस्तुमा सम्पन्न नेकपा विप्लव समूहले प्रचण्डकै कारण एकता प्रक्रियामा जान नसकिएको निश्कर्ष निकाल्यो ।
बाम ध्रुवीकरणलाई अघि बढाउने भन्दै माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, विप्लव नेकपा, बाबुराम नेतृत्वको नेसपा रहेको समाजवादी मोर्चा बनेको थियो । निश्क्रिय बनेको मोर्चा प्रचण्ड सत्ताच्यूत भएपछि एकाएक मुर्झाएको थियो ।
मोर्चा सक्रिय बनाउँदा पछिल्लो समय महिन्द्र समूह मोर्चामा सेमेटिँदा बाबुराम अलग्गिए । अहिले न त मोर्चा नै सक्रिय रह्यो, न पार्टी एकता प्रक्रिया नै अघि बढ्यो । अन्ततः नेकपा एसले बामपन्थीहरुसँग सहकार्य भए पनि आजको दिनमा कुनै पनि कम्युनिस्ट पार्टीसँग एकता गर्न सम्भव नरहेको निश्कर्ष निकाल्यो ।
केही नेताहरु पार्टीमा ल्याउनका लागि एकीकृत समाजवादीले गरेको पहललाई हेर्दा बाम घटकहरु एकता भन्दा ध्रुवीकरणको प्रक्रियामा रहेको देखिन्छ ।
मंसिर २२ गते एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वटा बाम पार्टीहरुबीच एकता नजिक पुगेको बताएका थिए ।
हिजोका माओवादी धारादेखि बामपन्थी समाजवादी धारासँग एकता हुने उनले सार्वजनिक गरेका थिए । जसलाई उनले देशको लोकतान्त्रिक आन्दोलनको आवश्यकताका रुपमा अथ्र्याएका थिए ।
किन भाँडियो एकता पहल ?
नेकपा एस, नेकपा विप्लव, नेसपा मात्र होइन, धर्मेन्द्र बास्तोला लगायतका विभाजित माओवादी धाराहरु पनि प्रचण्डसँगको एकताको छलफलमा थिए । तर एकताको नजिक पुगेका दलहरुबीच नै एकता भाँडिन पुग्यो ।
नेकपा एसले महासचिव पद दिएर घनश्याम भुसाललाई पार्टीमा प्रवेश गराएजस्तै प्रचण्डले विप्लवलाई महत्वपूर्ण जिम्मेवारी दिन खोजेपछि पार्टी नै अर्को फुटको खतरामा पुग्यो ।
जसले गर्दा प्रचण्डलाई एकता प्रक्रिया लम्ब्याउनुको विकल्प भएन । यहि कारण विप्लवले एकता नहुनुको दोष प्रचण्डलाई थोपरे ।
एकता भाँडिएपछि प्रचण्डले माओवादी घटक नेताहरुलाई एक एक गरेर पार्टी प्रवेश गराउने रणनीतिमा छन् । त्यसैले साना चोइटिएका समूहका सदस्यलाई समेत पूर्ववत पार्टीकै हैसियतमा पार्टीमा जिम्मेवारी दिने प्रचण्डले घोषणा गरेका छन् ।
यो निर्णयले साना साना झुण्डमा रहेका निराश नेता कार्यकर्ताहरुलाई ठूलो संख्यामा पार्टी प्रवेश गराउन सकिने प्रचण्डको विश्वास छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको वृहत्त एकता भत्किएका कारण पनि राजनीतिक दलहरु कुनै पनि एकता प्रक्रियामा तत्कालै हाम फाल्न झस्किएका छन् ।
