News 24 Television
आरजुसँग भारत बेखुश, एमाले नेता भारत पुग्दा मोदी गायब !

काठमाडौं । परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा दिल्लीमा छिन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको चाँजो मिलाउन दिल्ली पुगेकी आरजुले कस्तो नतिजा निकाल्न सफल होलिन ? प्रश्नहरु तमाम छन तर, जवाफ भने खास उत्साहप्रद हुन सकेको देखिन्न । 

पहिलो भारत भ्रमणमा जाँदा पाएको आतिथ्यताले आरजु राणा देउवालाई अबको प्रधानमन्त्रीको रुपमा नै उचालियो । त्यहिबेला प्रधानमन्त्री केपी ओलीले महिला प्रधानमन्त्री बनाउने अवसर आफूलाई प्राप्त हुनसक्ने भन्दै सनसनी फैलाइदिए । 

त्यसपछि आरजुले आफू अहिले प्रधानमन्त्रीको उम्मेदवार नै नभएको र कांग्रेसबाट शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने प्रष्टीकरण नै दिइन् । भारतबाट फर्किएपछि आरजुमा देखिएको उत्साह अहिले भने उस्तै छैन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि समकक्षी एस जयशंकरसँग समेत उनले भेटिन् । यसरी आरजुलाई भारतले उच्च प्राथमिकता  दिएको भन्दै ठूलो चर्चाको विषय पनि बन्यो भने उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पनि तयारी भएको जिकिर गरिदिइन् । 

प्रधानमन्त्री केपी ओलीलाई खास महत्व नदिएको भारतले आरजुलाई दिएको सम्मानबाटे धेरैले अनेक अड्कल पनि गरे । तर, अहिले ओलीको भ्रमणको चाँजो मिलाउनका लागि भारत पुगेकी उनको भ्रमण भने खास हुन सकेको छैन् । 

भारतीय पक्षले ओलीलाई भारत बोलाउने आश्वासन दिएपनि आरजुबाट पुगेको सन्देशलाई भारतले विश्वास नै गर्न सकेन् । यस्तो स्थितिमा अर्को रोचक मोडको विकास भएको छ ।

एमाले नेता अचानक दिल्लीमा

एमाले उपमहासचिव प्रदीप ज्ञवाली अचानक दिल्ली पुगेका छन् । परराष्ट्रमन्त्री आरजुले भारती पक्षलाई ओलीको भ्रमणबारे आश्वस्त पार्न नसक्दा एमालेले पनि आफ्नो दूतको रुपमा ज्ञवालीलाई भारत पठाएको देखिन्छ । 

चीन र बीआरआईप्रति अत्यन्तै सकारात्मक सुनिने ज्ञवालीको भारत  यात्रा राजनीतिक रुपमा अर्थपूर्ण र प्रधानमन्त्री केपी ओलीको भ्रमणका लागि पनि उत्तिकै महत्वको बनेको बताइन्छ । 

यस्तो स्थितिमा ओलीको भ्रमण तालिकामा करिबव सहमति जुटेको बताइएपनि भारतीय पक्षले खास महत्व दिन आनाकानी भने गरिरहेको छ । उसोतः ज्ञवालीको भ्रमणपछि नयाँ स्थिति सिर्जना हुने अपेक्षा समेत गर्न थालिएको छ । 

आरजुको खल्लो यात्रा

     मन्त्रीको रुपमा पहिलोपटक बारत पुग्दा आरजुले पाएको सम्मान सम्झनलायक बन्यो । भारतले ओलीलाई नचाहेको बेका कांग्रेस सभापति पत्नी समेत रहेकी आरजुको दिल्ली यात्रा रोचकमात्रै बनेन्, नेपाली राजनीतिमा प्रधानमन्त्रीको तहमा पाउने सम्मान पाएको चर्चा समेत चल्यो । केहिले त प्रधानमन्त्री ओलीप्रति भारत सकारात्मक नभएकै कारण आरजुले ठूलो सम्मान पाएको समेत भने तर, अहिले आरजुको भ्रमण टोलस्तरिय जस्तो बन्न पुगेको छ । 

ओलीको भ्रमणको चाँजो मिलाउने महान जिम्मा लिएर युरोपबाट सिधै भारत पुगेकी उनी खास महत्वमा नपरेको कुरा ज्ञवालीको दिल्ली यात्राले नै धेरै पुष्टी गर्ने देखिन्छ । यस्तोमा आरजुको भ्रमण किन खल्लो बन्यो ? 

आरजु एक्लैले किन भारतीय पक्षलाई सकारात्मक बनाउन सकिनन् ? तमाम प्रश्नको विवेचना भने शुरु भएको छ । ओलीको दूत बनेर भारत गएको भनिएपनि यतिबेला भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्री जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल नै भारतमा छैनन् । 

यस्तोमा पनि नेताहरुको अर्थपूर्ण दौडलाई लिएर चर्चा चल्न थालेको छ । भने आरजुले भारतमा विताउने दिन नै खल्लो भएको टिप्पणी भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update