News 24 Television
गोदावरी बहुउद्देश्यीय रंगशाला बनाउन राष्ट्रिय वनको ३.४५ हेक्टर जग्गा स्वीकृत

काठमाडाैँ । सरकारले गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माण गर्नको लागि ललितपुर जिल्लामा रहेको राष्ट्रिय वनको ३.४५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेकाे छ । पुस ५ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूच्ना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन् ।

godawari-(2)-1734872698.jpg
यस्तै, मन्त्रिपरिषद बैठकले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको लागि सम्पती शुद्धीकरण निवारणका लागि नियमनकारी निकायका रुपमा नेपाल राष्ट्र बैंकलाई तोकेको छ । सरकारले सवारी साधन विक्री गर्ने व्यवसायीको लागि यातायात व्यवस्था विभाग र इन्भेष्टमेण्ट कम्पनीको लागि नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोकेको पनि उनले बताए । 

प्रवक्ता गुरुङका अनुसार सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिमार्जित कार्यविवरण स्वीकृत गरेको छ । त्यस्तै सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पद सङ्ख्या दुईमा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग र नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गरेको छ । 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update