काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहित दर्जनौं नेता कार्यकर्ताहरु पक्राउ परेका छन् । सरकारले २२ वटा सहकारी संस्थालाई मात्रै समस्याग्रस्त घोषणा गरे पनि पाँच सय बढी सहकारीहरु समस्यामा छन् । एकपछि अर्को सहकारी संस्थाहरु समस्यामा भए पनि ठोस निकास भने निस्किन सकिरहेको छैन । राजनीतिक दलका नेता कार्यकर्तादेखि कर्मचारीहरु सहकारी ठगीमा छन् । केन्द्रका नेता कार्यकर्ता मात्र होइन, केन्द्रदेखि स्थानीय तहका जनप्रतिनिधिदेखि भ्रष्टाचारविरोधी अभियन्ता भन्नेहरु पनि सहकारी ठगीमा मुछिएका छन् ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लामो समयदेखि प्रहरी हिरासतमै छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनलाई सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुरमा मुद्दा अभियोजन गरिएको छ ।
सहकारी ठगी प्रकरणमा अहिलेसम्म दर्जनौं नेता कार्यकर्ताहरु पक्राउ परिसकेका छन् । दर्जनौ नेता कार्यकर्ताहरु सहकारी प्रकरणको आरोपित छन् । कतिपयलाई सरकारले राजनीतिक संरक्षण गरिरहेको आशंका गरिएका छन् भने कतिपय अझै सम्म पनि फरार छन् ।
सहकारी संस्थाहरुमा राखिएको बचन अपचलन भएको भन्दै सहकारीपीडितहरुले वर्षौदेखि सडकमा आएर रोइकराई गर्दा पनि सरकारले वेवास्ता गरेकै कारण सहकारी समस्या विकराल बनेको हो । सरकारले भने अहिलेसम्म २२ वटा सहकारी संस्थालाई मात्रै समस्याग्रस्त सहकारीको रुपमा घोषणा गरेको छ । समस्याग्रस्त घोषणा गरिएका सहकारीको सम्पत्ति जफत गरी निक्षेप फिर्ता हुने भए पनि अन्य सैयौं सहकारीका लाखौ पीडितहरु बिचल्लीमा छन् ।
आफूलाई सहकारीको अभियन्ता बताउनेदेखि केन्द्रदेखि स्थानीय तहका जनप्रतिनिधिहरु नै सहकारी ठगीमा संलग्न भएको भेटिएका छन् ।
सहकारी ठगी प्रकरणमा स्थानीय तहकै जनप्रतिनिधिको ताँती
- बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा छन् । पोखरा र बागलुङमा गरी सहकारीमार्फत २ अर्ब बढी ठगी आरोप लागेर लामो समय फरार रहेका उनलाइ नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी नेपाल ल्याइएको थियो ।
- काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सोमवार मात्रै प्रहरीले पक्राउ गरेको छ ।
- रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का वडाध्यक्ष कैलाशकुमार दर्लामी, पोखरा–४ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी अभियोगमा पुर्पक्षका लागि कारागार चलान गरिएका छन् ।
- कास्कीको पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदी, मित्रमिलन ठगी अभियोगमा पक्राउ परेका थिए ।
केन्द्रदेखि स्थानीय तहका जनप्रतिनिधि मात्र होइन, भ्रष्टाचारविरोधी अभियन्ता बताउनेहरु समेत सहकारी ठगीमा मुछिएका छन् । भ्रष्टाचारविरोधी अभियन्ता बताउने भरत जंगम सहकारी ठगीमा आरोपमा पक्राउ परिसकेका छन् । बानेश्वरस्थित साई स्वागत सहकारीका पूर्व अध्यक्ष जंगमलाई आइतबार प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो ।
