News 24 Television
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदुतको शिष्टाचार भेट

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदुत एब्रार एच हस्मीले शिष्टाचार भेट गरेका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरुमा छलफल भएको हो ।

साथै व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियाे । प्रधानमन्त्री ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरुले पहल गरिरहेको र यसमा आवद्ध मुलुकले रचनात्मक भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले कुनै दुुई मुलुकबीचमा आपसी समस्या हुनसक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्कजस्ता क्षेत्रीय सङ्गठनमा पर्न नहुने बताउँदै नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुुता’ भन्ने भावनाका साथ सार्वभौम र स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको स्पष्ट गरे ।

राजदूत हस्मीले आफूहरु पाकिस्तानामा सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर रहेको अवगत गराए । उनले आफूहरु आगामी दिनमा नेपालसँग विविध विषयमा थप सहकार्य गर्न पनि इच्छुक रहेको बताए । 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update