काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना थियो– पहिलो विदेश भ्रमण दक्षिण छिमेकी देश भारतबाट गर्ने । तर, प्रधानमन्त्री भएको छ महिना हुँदासम्म पनि उनको भारत भ्रमणको तिथि तय हुन सकेको छैन । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको जिम्मेवारी असार ३१ गते सम्हालेका थिए । उनलाई त्यही दिन भारतीय समकक्षी मोदीले सामाजिक सञ्जालमार्फत बधाइ दिए । तर, भारत भ्रमणको निम्तो दिएनन् । करिब एक महिनापछि अर्थात साउन २७ गते भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आए । मिश्रीमार्फत ओलीले भारतसँग सम्बन्ध सुधार गर्न चाहेको सन्देश पठाउनुको साथै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिए । तर, मिश्रीसँग मोदीको निम्तो कार्ड थिएन ।
त्यसको एक सातापछि अर्थात असोज दुई गते ओलीले परराष्ट्रमन्त्री डाक्टर आरजु राणालाई दिल्ली पठाए । चार दिने भ्रमणका क्रममा राणाले समकक्षी एस जयशंकरका साथै मोदीसँग पनि भेटवार्ता गरिन् । उनले ओलीका तर्फबाट मोदीलाई नेपाल भ्रमणको निम्ता दिइन् । तर, मोदीले ओलीलाई स्वागत गर्न नचाहेको सन्देश दिए । परराष्ट्रमन्त्री राणालाई भारतले दिएको सम्मानबाट ओली झस्किन पुगे । भातरबाट निम्तो नआएपछि प्रधानमन्त्री ओली चीन गत मंसिर १७ गते चीन हानिए । चीन भम्रणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले फेरि भारत भ्रमणको तयारी गरे । प्रधानमन्त्री ओलीले केही दिनअघि झापाको एक कार्यक्रमलाई सम्बोधन गर्दै आफू अब चाँडै भारत भ्रमणमा जाने समेत बताएका थिए ।
ओलीको भारत भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री आरजु राणा यही पुस चार गते युरोपबाटै नयाँ दिल्ली पुगिन् । ओलीको भ्रमणका बेला चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेपछि उत्पन्न अविश्वास हटाउन उनी युरोपबाट सिँधै दिल्ली पुगेकी थिइन् । उनले भारतीय विदेश मन्त्री डा. एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिश्रीसँग भेटघाट गर्ने चर्चा थियो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत जनवरी ९ को मिति प्रस्ताव गरिसकेकाले परराष्ट्रमन्त्री आरजु दिल्ली पुगेकी थिइन् । तर त्यहाँ कुनै पनि प्रकारको कूटनीतिक तवरको भेटघाट हुन सकेन । अन्ततः काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको संयुक्त कार्यक्रमलाई सम्बोधन गरेर केही समय स्वास्थ्य उपचारको नाममा दिल्ली बसिन् । युरोपबाट पुस चार गते भारतको राजधानी नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री आरजु सोमबार साँझ स्वदेश फर्किसकेकी छन् । प्रधानमन्त्री ओलीलाई भारत भ्रमण गराउने उद्देश्यसहित दिल्ली पुगेकी राणाको यात्रा ‘उपलब्धि शून्य’ जस्तै बन्यो ।
परराष्ट्रमन्त्री आरजु राणाले प्रधानमन्त्री ओलीको भ्रमणको मिति तोक्न हरसम्भव प्रयास गर्दा पनि भारतले खासै चासो नदिएपछि उनको यो भ्रमण खल्लो भएको छ । स्वदेश फर्किपछि परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्रीको भ्रमणलाई लिएर भारतीय पक्षसँग कुनै कुराकानी नभएको जानकारी दिएकी छन् ।
परराष्ट्रमन्त्री आरजु दिल्लीमा रहेकै बेला एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि दिल्लीमै पुगेका थिए । आरजु एक्लैले भेटघाटको चाँजोपाँजो मिलाउन नसक्ने, प्रधानमन्त्रीको भ्रमणको मिति पनि तय गर्न नसक्ने भएपछि ज्ञवाली त्यहाँ बताइएको थियो । तर ज्ञवालीले कुनै कूटनीतिक मामिलाका जानकारहरूलाई भेटघाट गरेको पुष्टि भएको छैन । ओलीले भारत भ्रमणका लागि विभिन्न तहबाटै छलफल गरिरहका छन् ।
प्रदीप ज्ञवाली वा आरजु देउवामात्रै होइन, उद्योगमन्त्री दामोदर भण्डारीमार्फत पनि यो कार्ड प्रयोग गरिरहेका छन् । भण्डारी केही समयअघि दिल्ली गएका बेला त्यहाँमा भाजपाका नेता विजय जोलीसँग भेटघाट गरेका थिए । त्यसक्रममा भण्डारीले प्रधानमन्त्री ओलीको भारत भ्रमणको प्रस्ताव राखेका थिए । त्यतिबेला उनीहरू बिच ओलीको भारत भ्रमणको कुराकानी भए पनि त्यसले सार्थकता पाउन सकेको थिएन । प्रधानमन्त्री ओलीले भारत भ्रमणको लागि बारम्बार प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन । र, उनको भारत भ्रमण कहिले हुन्छ भन्ने आगामी दिनले नै देखाउने छ ।
