News 24 Television
नेपालविरुद्ध चीन र भारतको यस्तो सहमति, नेपाली भूमिमा एकतर्फी भारतको विकास निर्माण   

काठमाडौं । नेपालका दुई ठूला छिमेकी हुन, भारत र चीन । भारत र चीनमा कसलाई नजिकको ठान्ने भन्ने विषय नेपालको राजनीतिमा चर्चा हुने गर्छ । तर, पछिल्लो समय दुई छिमेकी राष्ट्रहरुले देखाएका व्यवहारले भने नेपालप्रति उनीहरुको बुझाईबारे थप प्रष्ट हुन्छ । 

केहि दलहरु भारततर्फ ढल्किनुपर्ने ठान्छन् र वामपन्थी भनिएका दलहरु चीनप्रति लचक हुन्छन् । अहिले सबैखाले चरित्रका दलहरु मिलेर सरकार बनाइरहेका छन् । 

यहिबेला भारत र चीनले कालापानीबाट मानसरोवर तिर्थयात्री जाने विषयलाई सहमतिको अंश बनाउन कस्सिए । जसले भारत र चीनले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको कुरा छिपेको छैन । 

चीन भ्रमणबाट चिनियाँ महत्वकांक्षी परियोजना बीआरआई सम्झौता गरेर नेपाल फर्किएका प्रधानमन्त्री केपी ओली हर्षित देखिन्थे । आफ्नो चाहनामा कांग्रेसलाई पनि लतारेको ठानेका ओलीले चीनलाई नजिकबाट साथ लिएको ठानेका थिए । तर, त्यहि चीनले नेपालको अधिकार नै हनन गरेर भारतसँग सम्झौता गरिदिएको छ । 

भारत–चीनबीच सन २०२० मा आएको कोरोनामा महामारीदेखि रोकिएको कैलाश मानसरोवर तीर्थयात्रा अब निरन्तर हुनेछ । बेइजिङमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका परराष्ट्रमन्त्री वाङ वी सहभागी भएको बैठकले यस्तो सहमति गरेका हुन् । जुन कुरा भारत र चीनले जनाएका छन् । 

सहमतिको बुँदा नम्बर ६ मा तीर्थयात्रुलाई कैलाश मानसरोवर यात्राका लागि सञ्चालनमा ल्याउने भनिएको छ । भारतीयहरु मानसरोवर जान नेपालको कालापानी हुँदै जानुपर्ने हुन्छ । कालापानी क्षेत्र नेपालको भएको तथ्य लुकेको छैन । भारतले एकतर्फी रुपमा त्यसक्षेत्रमा विकास निर्माणका कामहरु गरिरहेको छ । 

यो विषयको जानकारी नेपालले चीनलाई पहिलेदेखि नै दिदै आएको छ । तत्कालीन प्रधानमन्त्री शुशिल कोइरालाको पालामा नै भारत र चीनबीच भएको सहमतिमा नेपालले प्रोटेस्ट नोट पठाइसकेको हो । यस्तो स्थितिमा चीनले किन नेपाललाई नसोधी भारतसँग यस्तो सहमति गरिरहन्छ भन्ने विषय नै अनौठो बन्न पुगेको छ । 

के गर्ला सरकार ?

चुच्चे नक्सा बनाउने सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओलीले भारत–चीनले गरेको यो निर्णयलाई असमति दर्ज गराउन अघि बढ्लान ? शंका छ । ओलीले नेपालको जमिन जसरी भएपनि फिर्ता ल्याएरै छाड्ने दाबी पनि गर्दै आएका थिए । 

प्रचण्ड प्रधानमन्त्री भएको बेला कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र फिर्ताबारे नबोलेको भन्दै उछितो काढ्ने गरेका उनले के आफ्नो पालामा दुई देशले गरेको यो सहमतिको विरोध गर्लान ? चासो बढेको छ । तर, भारत भ्रमणका लागि अनेक प्रयास गरिरहेका ओलीले के गर्लान भन्ने चासो उत्तिकै छ । 

भारतले देखाएन नेपालप्रति चासो

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको चाँजोपाँजो मिलाउन भन्दै भारत पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले वास्ता नगरेपछि अब के हुन्छ भन्ने अन्योलता देखिन्छ । ओलीले चीनपछि भारत भ्रमणको तयारी गरिरहेका छन् । 

भारत भ्रमणको मुखैमा चीन र भारतले नेपाली भूमी उपयोगको निर्णय एकलौटी गरेपछिको स्थिति कस्तो होला ? स्वभाविक प्रश्नहरु देखिन्छन् । भारतले आरजुलाई नदिएको चासो र चीनसँगको सम्झौतापछि के ओलीको भ्रमण होला ? 

यो प्रश्नभन्दा पहिले सरकारले दुई देशले गरेको सहमतिमा औपचारिक असहमति जनाउला कि नजनाउला भन्ने प्रश्न पेचिलो बनेको छ । 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update