News 24 Television
एमाले र एस दुबैमा खुट्टा उचालेका बामदेव, यता न उता 

काठमाडौं । तत्कालिन अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रबीच भई बनेको नेकपाको विभाजनपछि बामदेवा गौतमले पार्टी एकताको अपरिहार्यता रहेको अभियान नै चलाए । तर उनै गौतम भने पार्टी एकता त कता हो कता, आफै कता कुन पार्टीमा अटाउने हो निश्चित छैन । 

तत्कालिन नेकपामा हुँदा नै राष्ट्रिय सभा सदस्य बन्ने अवसर पाएर नै बामदेव गौतम अहिले पनि राष्ट्रियसभा सदस्य छन् । तत्कालिन नेकपाको छोटो समयमै विभाजित भएपछि गौतम एमालेमा फर्किएनन् भने माओवादी केन्द्रतिर पनि गएनन् । 

पुनः कम्युनिष्ट पार्टी एकताको आवश्यकता रहेको भन्दै ‘पार्टी एकता राष्ट्रिय अभियान’ गठन गरे । र, त्यसको संयोजक बने । उनको अभियानको कुनै सार्थकता नै रहेन । बरु एमालेबाट माधव नेपालको समूह छुट्टिएर नेकपा एकीकृत समाजवादी बनाए । गौतम माधवको एकीकृत समाजवादीतिर पनि गएनन् । 

पछिल्लो समय भने एमालेमा जानका लागि निकै प्रयत्न गरे । तर पार्टीमा उमेर हदका कारण माथिल्लो नेतृत्व नपाउने भएपछि त्यहाँबाट बिच्किए । त्यसपछि भने प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौतमको वास्ता नै गरेनन् । 

एमालेमा आउने वातारण मिलाउन भन्दै गौतम बालकोट पनि धाए । आफ्नो अभियानको औचित्य नदेखिएपछि एमालेमा जाने कि समाजवादीमा भनेर दुवैतिर खुट्टा उचालेका उनी अहिले भने समाजवादीमा जाने तर्खरमा छन् । 

बामदेवलाई तेस्रो बरियताको चर्चा 

गौतमलाई पार्टीमा अध्यक्ष माधव नेपाल र पूर्व अध्यक्ष झलनाथ खनालपछिको तेस्रो बरियता दिने बिषयमा नेकपा एसका नेताहरु सहमत पनि भए । गत पुस ५ गते भैँसेपार्टी स्थित वामदेव गौतमकै निवासमा नेकपा एसको बैठकको मयान्डेट लिएर माधव नेपाल पुगेका थिए । 

माधव र बामदेवबीच २ घण्टा छलफल भयो । उक्त छलफलपछि गौतम केहि दिन भित्रै नेकपा एसमा जाने चर्चा चल्यो । बामदेवको अभियानका नेता डीबी कार्कीसहितको ३ सदस्यीय वार्ता समिति पनि बनाइयो । तर अहिले फेरि उनै गौतमले पार्टी एकिकरणबारे कुनै छाँटकाँट नदेखिएको बताउन थालेका छन् । 

उनले माधव नेपालविरुद्ध लाग्न सक्ने बुझाई समाजवादी भित्र रहेका कारण कुनै छाँटकाँट नदेखिएको टिप्पणी गर्दै आउन थालेका छन् । 

सहि समयमा सहि निर्णय लिन नसक्दा बामदेव पछि लागेका नेताहरु कोहि एमालेमा फर्किए त कोही नेकपा एसतिर लागे । गौतमपछिका नेताहरु तितरवितर भएपछि उनले २०७९ असार १४ गते डिबी कार्की, निमकान्त पाण्डे, भगवती विष्ट र तुलसा थापा सहितका नेताहरुलाई बोकेर नयाँ पार्टी नेकपा एकता राष्ट्रिय अभियान स्थापना गरेका थिए । नयाँ पार्टीको स्थापनापछि पनि गौतमले आफुले कम्युनिष्ट पार्टीहरुलाई एकिकृत गर्न पहल गर्ने बताउँदै आएका थिए । 

एमालेमा उपाध्यक्ष भएका वामदेव गौतमकै सहयोगमा एमालेको ९ औं महाधिवेशनबाट पार्टी अध्यक्षमा केपी ओलि चयन भएका थिए । तर अहिले उनै ओली गौतमलाई एमालेको लिगेसि भन्दा टाढा राख्न खोजिरहेका छन् । 

२०५४ सालमा महाकाली सन्धिको बिषयमा विमति राख्दै एमाले फोडेर नेकपा माले गठन गरेका गौतमले त्यो बेला ठुलो मात्रामा नेता तथा कार्यकर्ताको साथ पाएका थिए । तर पनि उनले पार्टी थेग्न सकेनन् । एमालेतिर फर्किए । अहिले भने एक्लो जस्तो बनेका बामदेव एमाले र एस दुवैतिर खुट्टा उचाले पनि टेकाउन पाएका छैनन् ।  

वामदेवलाई ओलीपछि नेपालको पनि व्यवास्था 

एमालेमा हुँदा नाम होस् वा बद्नाम होस् तर गौतम भने गुम्नाम थिएनन् । नेकपा कालमा प्रचण्ड र माधव नेपालको उक्साहटमा लागेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनु पर्ने व्यवस्था राख्नु पर्ने माग उनले अगाडि बढाए । 

तात्कालिन समयमा नेकपामा ९ सदस्यीस सचिवालय थियो । जसको सदस्यमा माओवादीका तर्फदेखि प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा थिए भने एमालेबाट केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल थिए । नेकपा भित्रको आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था ल्याउने आस्वासन पछि गौतम प्रचण्ड–माधव कित्तामा उभिएका थिए । 

प्रचण्ड माधव कित्तामा गौतमसहित झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ हुँदा बहुमत सचिवालय पुग्यो भने ओलि कित्तामा रामबहादुर थापा बादल, विष्णु पौडेल र ईश्वर पोखरेल मात्रै भए । बहुमत सचिवालयले ओलीमाथि कार्वाहीको तयारी गरेकै बेला उनले दुई दुई पटक संसद विघटन गरे । 

त्यसको बिरोधमा गौतम पनि लागे । सर्वोच्चले संसद पुनःस्थापनाको निर्णय गरेको केही दिन भित्रै नेकपा नाम जुध्न गएको भन्दै नाम सच्चाएर पुनः निर्वाचन आयोग जाने गरी फैसला गरिदियो । यो फैसलापछि प्रचण्ड माओवादी बिउँत्याएर अगाडि बढे, माधव पार्टी फुटाउन लागे भने बामदेव एकिकरणको तुरुप फ्याँक्दै बसे । 

यो बिचमा उनले कहिले ओलि तर्फ त कहिले माधव तर्फ सम्पर्क गरे जसले गर्दा दुवैको नजरमा उनी पर्न सकेनन । शुरुमा बढ्दो उमेर र खस्किदो लोक प्रियताका कारण ओलिले चासो नदेखाएका वामदेवलाई पार्टीमा भित्र्याउँदा आफ्नै बिरुद्ध लाग्छ कि भन्ने डरले माधवले पनि चासो दिएको देखिदैन । नेकपा एसमा भित्र्याउँदा झलनाथ खनालसंग मिलेर आफुलाई एक्लाउन सक्ने माधवको बुझाइ रहेको नेकपा एसका नेताहरु बताउँछन् । 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update