News 24 Television
पोखरा विमानस्थल नचल्नुमा भारत कति जिम्मेवार, सरकार किन निरीह ?

काठमाडौँ । निर्माण सम्पन्न भएर दुई वर्षअघि नै उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । चीनको ऋण लगानीमा निर्माण गरिएको र पर्यटकीय नगरी पोखरालाई विदेशी सहरसँग सीधा उडानमार्फत जोड्ने अपेक्षा गरिएको उक्त विमानस्थल सञ्चालन हुन नसक्दा मुलुकलाई घाटा भएको छ । विशेषगरी नेपालमा चीनिया लगानीका आयोजना बहिस्कार गर्दै आएको भारतका कारण पोखरा विमानस्थल पनि अलपत्र परेको बताइन्छ । भारतले पोखराका लागि आफ्नो आकाशमा रुट परमिट (उडान अनुमति) नदिँदा उक्त विमानस्थल सञ्चालन गर्न नसकिएको जानकारहरु बताउँछन् । सरकारले पनि यसका लागि भारतसँग ठोस संवाद तथा पहल गर्न सकेको देखिन्न । पोखराबाट भारतका धेरै शहरमा सीधा उडान गर्नेबारे छलफल भएको थियो, तर भारतले त्यसरी उडान गर्ने अनुमति दिन नमान्दा उडान सम्भव भएको छैन ।

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘चीनको बीआरआई परियोजना अन्तर्गत होइन’ भनिदिए मात्रै पनि भारतले उडान अनुमति दिनसक्ने बुद्ध एयरलाइन्सका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत बताउँछन् । शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ः नागरिक उड्ययन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले उक्त कुरा बताए । भारतले पोखरा विमानस्थललाई चीनसँग सम्झौता गरेको बिआरआई परियोजना अन्तर्गतको आयोजना भएको भन्दै उडान अनुमति नदिएको उनको बुझाइ छ । नेपाल सरकारले बुद्ध एयरलाई पोखराबाट बनारस उडानको अनुमति दिए पनि भारत सरकारले अहिलेसम्म नदिँदा उडान गर्न नसकिएको उनले सुनाए । 

पूर्व पर्यटन मन्त्री तथा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत नभएको बताएका छन् । उनले पोखरा विमानस्थल बिआरआई अन्तर्गतको परियोजना भनेर व्याख्या गर्नु गलत भएको जिकिर गरे । प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा भएको बिआरआई परियोजना सम्बन्धि फ्रेमवर्क सम्झौतामा १० परियोजना रहेको र त्यसमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नरहेको उनले स्पष्ट पारे । सम्झौता हुँदा उल्लेख भएका १० परियोजना रेल्वे, सडक, शिक्षा र ट्रान्समिसन लाइन लगायका रहेको भन्दै उनले पोखरा विमानस्थल त्यसमा नपरेको बताए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सरकारले तोकेमा तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल चल्ने दाबी गर्छन् । अहिले भैरहवा, पोखरा र त्रिभुवन विमानस्थल एकैपटक चल्नसक्ने अवस्था नभएको भन्दै उनले त्रिभुवन विमानस्थलको क्षमता तोक्नुपर्ने बताए । त्रिभुवन विमानस्थललाई क्षमताअनुसार मात्रै चलाउने भनेर सरकारले निर्णय गरेको दिन भैरहवा, पोखरा विमानस्थल पनि चल्ने उनको दाबी छ ।

सरकारले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरन्तर सञ्चालनमा ल्याउन खोजे पनि त्यहाँ भिजिबलिटीको समस्या देखिएर वायु सेवा कम्पनीहरु निरुत्साहित भएका छन् । कम भिजिबलिटीमा पनि उडान गर्न मिल्ने प्रविधि जडान भए पनि त्यसमा पनि भारतीय आकाशको अनुमति नपाउँदा उक्त प्रविधि लागु गर्न सकिएको छैन । यी दुवै विमानस्थलमा भारतकै कारण सञ्चालन गर्न समस्या भएको विज्ञहरु बताउँछन् । तर सरकारले भारतसँग यसबारे ठोह पहल गर्न किन सक्दैन ? यो प्रश्न उठ्ने गरेको छ । करिब २२ अर्ब रुपैयाँ चीनिया ऋणमा बनेको पोखरा विमानस्थल सञ्चालन नहुँदा आम्दानी सुकेको छ भने ऋणको किस्ता तिर्न समेत नसक्ने अवस्था आएको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update