News 24 Television
भारतको स्पष्टीकरण नेपाललाई शिक्षा !

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको चाँजो मिलाउनका लागि युरोप हुँदै भारत पसेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरेको एक भेट विवादमा छ । इन्डिया फाउन्डेसनका अध्यक्ष राम माधवले आरजुलाई भेटेपछि स्पष्टीकरणसम्मको विषय बनेको विषयले चर्चा पाउन थालेको छ । 

युरोपका विभिन्न देशका प्रतिनिधिसँगको भेटपछि पुस ४ गते दिल्ली ओर्लिएकी परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भारतीय सरकारका उच्च अधिकारी त के कसैले पनि भेट्न मानेनन् । पुस ४ गते दिल्ली पुगेकी आरजुले पुस ८ गते इण्डिया फाउन्डेसनको भेटघाट कार्यक्रममा आरजु सहभागी भएको विषयमा भारतीय जनता पार्टीले राम माधवलाई स्पष्टीकरण सोधेको बताइएको छ । 

राम माधव कुनैबेला भारतीय जनता पार्टीका महासचिव समेत थिए । अहिले उनी भारतीय सरकारको थिंक ट्याङ्ककको रुपमा काम गरिरहेको इण्डिया फाउन्डेसनले गरेको यो भेटलाई अत्यन्तै चासोका साथ हेरिएको छ । फाउन्डेसनले आरजुलाई कार्यक्रम बनाएर स्पेश दिएपछि भारतीय विदेश मन्त्रालयले प्रोटोकल, कुटनीतिक मर्यादा र परराष्ट्र नीतिको स्मरण गराउदै प्रष्टीकरण सोधेको भनिएको छ । यस्तोमा आरजुले भारतमा नपाएको महत्व र भारतीय पक्षले राम माधवलाई सोधेको स्पष्टीकरणले समेत परराष्ट्र मामलामा नयाँ आयाम थपिएको छ । 

परराष्ट्र मामलाको चासो

परराष्ट्र नीतिमा स्पष्टता प्रमुख विषय हो । यस्तोमा कसले कसलाई कस्तो स्थितिमा भेट्ने भन्ने विषय कुटनीतिक विषयमा महत्वपूर्ण मानिन्छ । नेपालको कुटनीतिक क्षेत्र कमजोर बनिरहेको बेला भारतले सोधेको स्पष्टीकरणले नेपालमा पनि नयाँ शिक्षा र ज्ञानको विषय बनेको छ । सामान्य विदेशी कुटनीतिज्ञसमेत नेपाली शीर्ष नेताको विछ्यौनासम्म पुग्ने पछिल्लो समयको स्थितिदेखि सरकार प्रमुखले समेत मध्यरातमा खुफिया एजेन्सीका सामान्य दूत भेट्ने विषयलाई राम माधव प्रकरणले नयाँ शिक्षा दिएको छ । 

नेपालको परराष्ट्र नीतिमा देखिएको अलमल र नेताहरुका व्यवहारलाई भारतले देखाएको पछिल्लो सक्रियतालाई नेपालले पनि हेर्न आवश्यक बनिसकेको छ । उसोतः पहिलो भ्रमणमा उच्च सम्मान पाएकी आरजु पछिल्लो भ्रमणमा खिस्रिक्कै बन्दा पनि यो विषयलाई कसरी लिन्छिन् भन्ने विषयले समेत नेपालको परराष्ट्र मामलामा नयाँ बहस शुरु हुनेछ । 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update