News 24 Television
माओवादी केन्द्र एकतामा गम्भीर नभएकाे विप्लवकाे भनाइ

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र) सँग एकता नहुने बताएका छन् ।

मंगलवार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै महासचिव चन्दले एकताको विषयलाई गम्भीरताका साथ नलिएसम्म कुनै पनि क्रान्तिकारी शक्तिसँग एकतामा नजाने चेतावनी दिए । उनले माओवादीसँगको पार्टी एकता सकियो भन्ने भ्रम फैल्याइएको भन्दै एकताका लागि गम्भीर रहेको खण्डमा पार्टी एकता  हुन सक्ने समेत बताए ।

नेकपाले लिएको एकताको पहलकदमीको आवश्यकतालाई अन्य कम्युनिष्ट पार्टीहरुले गम्भीरतापूर्वक नलिएको भन्दै उनले क्रान्तिकारीहरुको एउटा सही विचार, संगठनको ध्रुविकरण बनाउन आफूहरु लागेको बताए ।

उनले भने, ‘एकताको कुरा छ । बाहिरबाट हल्ला के भएको छ भने माओवादीसँगको एकता लर्बरियो रे, बन्द भयो रे, सिधियो रे भन्ने छ । त्यो कुरा होइन । हामीले भनेको कुरा के हो भने जुन गम्भीरतामा नेकपाले एकतालाई हेरेको छ र एकताको पहलकदमीको आवश्यकता ठानेको थियो, त्यो उचाईमा माओवादी केन्द्र वा अरु क्रान्तिकारी पार्टीको बीचमा गम्भीर भभएसम्म त्यो नहुँदासम्म हामीले सहकार्यलाई मोर्चामार्फत कायम राख्दै एउटा ध्रुविकरणतर्फ लैजाने भनेका हौँ । क्रान्तिकारीहरुको एउटा सही विचार, संगठनको ध्रुविकरण बनाउनुपर्छ भनेर लागेका हौँ ।’

महासचिव चन्दले बदलिएको सन्दर्भ, जनताको चाहना, जनताको सुझाव, पार्टीले गरिरहेको राजनीतिक अभ्यासको निस्कर्षबाट निर्वाचनमा भाग लिने निर्णय गरेको बताए । 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update