News 24 Television
अस्थिर वामदेवलाई माधवको छाता, बन्लान् परिपक्क ?

काठमाडौं । नेकपा एकता अभियान भन्दै राजनीतिक जीवनबाट किनाराकृत जस्तै बन्न पुगेका वामदेव गौतमले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने अन्तिम तयारी गरेका छन् । एमालेमा जान असफल प्रयासपछि उनले असन्तुलित अभिव्यक्ति दिदै आएका थिए । तर, अब उनी स्थिर बन्लान ? प्रश्न भने जिवितै छ । 

एमालेमा जान लामो समय रस्साकस्सी गरेका वामदेव गौतम केपी ओलीले वास्ता नगर्दा रोकिएका थिए । गएको निर्वाचनमा समेत धक्का व्यहोरेका गौतमले एमाले, माओवादीको एकतालाई जोड्ने दाबी गर्दै तत्कालीन नेकपा विभाजनमा नेकपा एकता अभियानको स्थापना गरेका थिए । 

तर, यो प्रयासमा उनी सफल हुने कुनै संकेत नै नमिलेपछि एमालेबाट छुट्टिएको माधव नेपाल नेतृत्वको नेकपा एसलाई मिलाउने भन्दै हिडे । तर, सबै प्रयास निरर्थक मात्रै बनेनन्, उनलाई एमालेले पार्टीमा भित्र्याउन समेत इच्छा देखाएन् । यसरी एकपछि अर्को गर्दै धक्का व्यहोरेका वामदेवले एमालेको ढोका बन्दजस्तो बन्न पुगेपछि माधव नेपाल नेतृत्वको नेकपा एसमै जाने निर्णय गरेको बताइन्छ । 

अस्थिर वामदेव

नेकपा एकीकृत समाजवादीमा जान पनि माधव नेपालले खास चासो नदेखाएको भन्दै विच्किएका उनले केहिदिन पहिलेमात्रै पनि एकता नहुने संकेत गरिरहेका थिए । 

उनीसँगै अभियानमा जोडिएका धेरै नेता कार्यकर्ताहरु एमाले र नेकपा एसमा समाहित भइसकेपछि एक्लो बनेका उनले के गर्लान भन्ने चासो थियो । तर, उनले छिनछिनमै धारणा बनाउने र जता जसले पहिले बोलाउँछ त्यतै जाने भनिरहेका थिए । जसकारण पनि वामदेवमाथिका राजनीतिक विश्वास कम हुँदै गएको स्थिति थियो । 

वामदेवको प्रयास र अस्थिरताका केहि दृष्टान्त

वामदेव गौतम नेपालमा एउटै कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्छ भनिरहेका पाइन्थे । केहि समय पहिलेमात्रै पनि उनले वामपन्थी एकता गराएरै छाड्ने दाबी गज्जबले गर्ने गर्थे । 

एउटै कम्युनिस्ट पार्टी निर्माण अभियानमा जुट्नुपर्ने दाबी गर्ने वामदेवले पुष्पलालदेखि विभिन्न नेताहरुको नाम लिदै एकताको सपना देखिरहन्थे। 

उसोतः एकता आवश्यक रहेको दाबी गर्दै हौसिने वामदेवले आफू ज्यूदो हुँदाहुँदै कम्युनिस्ट एकता गराएरै छाड्ने दाबी दोहो¥याइरहे । 

एकताको बहस गरिरहेका वामदेवमा राजनीतिक वितृष्णा पनि देखिन्छ । एमालेमा जान चाहेर पनि जान नपाएपछि उनले ७५ प्रतिशत एमाले आफूले निर्माण गरेको दाबी गर्ने गरेका पाइन्थे । 

एमाले निर्माणमा वामदेवदेखि माधव नेपाल झलनाथ खनालको पनि भूमिका नभएको पक्कै होइन तर, एकताको सुत्र भएको दाबी गर्दै बाहिर रहेका उनले यस्तो दाबी गरेपनि प्रभावकारिताको हिसावले उनको दाबी फिक्का नै सुनिन थालेको थियो ।

यसरी अस्थिर र चञ्चल मन बनाएर बसेका उनले पछिल्लो समय दुई चरणको वार्तापछि नेकपा एकीकृत समाजवादीमा जाने बाटोलाई भने राजनीतिक ढंगले डिल गर्न खोजेको देखिन्छ । 

एकताको छलफल सकारात्मक

अस्थिर र चञ्चल बनिरहेका वामदेव अब नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना बढेको छ । नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकपछि वामदेवले सैद्धान्तिक सहमति जुटेकाले अब धेरै समय कुर्न नपर्ने भनेका छन् । 

वामदेवले जस्तै नेकपा एकीकृत समाजवादीले पनि छलफल सकारात्मक बनेकाले एकताको बाटो खुलेको दाबी गरेको छ । 

एकता वार्ताले सकारात्मक रुप लिदै गएपछि अब वामदेवले नेकपा एसको तेश्रो तहको नेताको रुपमा काम गर्ने सम्भावना बढेको छ । यद्यपी अस्थिर र चञ्चल स्वभावका वामदेवले अहिले नै एकताको ढोकालाई राम्ररी आत्मसाथ गर्लान भन्नेमा संसय भने देखिन्छ । तर, नेकपा एकीकृत समाजवादीले वामदेवलाई उच्च प्राथमिकता भने दिएको देखिन्छ । 

वामदेव एक्लैसँगको वा्तामा माधव नेपालसहित उपाध्यक्ष तथा प्रचार प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, सचिव सावित्रा भुसाल, गणेश विक, चन्द्रबहादुर शाही, स्थायी कमिटी सदस्य बलराम बास्कोटासहितका नेता सहभागी थिए । यस्तो स्थितिका कारण पनि अब वामदेवले स्थिर राजनीतिक यात्रा नेकपा एसबाट गर्ने सम्भावना भने बढेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update