News 24 Television
ओलीको भण्डाफोरमा भीम रावलको साढे २ घण्टा, नयाँ पार्टीको बारेमा अस्पष्ट 

काठमाडौं । एमालेको कारबाही भोगेपछि रन्थनिएका भीम रावलले केपी ओलीमाथि भडास पोख्दै राजनीतिक यात्रा तय गर्ने भएका छन् । नयाँ पार्टी, विचार, राजनीतिक यात्राबारेमा योजना पेश गर्ने भन्दा ओलीमाथि भडास पोख्ने र ओलीको नजिकका नेताहरुमाथि खनिनेबाहेक नगरेका भीम रावलले के गर्लान् ? यो चासोमा छ । 

एमालेले साधारण सदस्यता नै खारेज गरिदिएपछि विकल्पमा जाने भनिरहेका भीम रावलले आयोजना गरेको पत्रकार सम्मेलन क्यामेराले खचाखच थियो ।

एमालेको कारबाहीपछि उनले पार्टी घोषणा गर्लान् भन्ने धेरैले अपेक्षा गरेका थिए । तर, उनले देश दौडाहामा निस्किने अनि राष्ट्रवादी पार्टी निर्माण गर्ने भनेका छन् । तर, उनले पार्टी निर्माणको खाका भने पेश गरेनन् ।

ओली लक्षित आरोपमै केन्द्रित

भीम रावलले पत्रकार सम्मेलनमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमाथि अधिकांश समय गाली गरेरै समय व्यतित गरे । ओलीका कारण एमालेको उधोगति लाग्ने दाबी गरेका उनले ओलीमाथि अनेक प्रश्न र आलोचना गरे । 

त्यसमा उनले बालुवाटारको जग्गा प्रकरणमा विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीध कुमार रेग्मीलाई उन्मुक्ति दिने काम पनि ओलीको इशारामा भएको आरोप लगाए ।

त्यो बेला अख्तियारले विष्णु पौडेलका छोरा र कुमार रेग्मीलाई सरकारी साक्षीको रुपमा राखेको थियो भने उनीहरुले जग्गा फिर्ता गरेका थिए । 

यसरी रावलले एमालेमा ओलीले निरंकुशता लाद्न खोजेको र त्यसमा महासचिव शंकर पोखरेलले समेत साथ दिएको भन्दै आलोचना गरे । ३१ पृष्ठ लामो आरोपपत्रमा उनले ओली र एमालेमा उनले देखाएको व्यवहारको आलोचना गरेर विताएका छन् । 

यसरी उनले ओली केन्द्रित आरोप लगाउदै गर्दा आफूपनि एमालेमै रहेको बेला भएका घटनादेखि ओलीले भारतीय खुफिया एजेन्सीका प्रतिनिधिलाई भेटेको विषयमा समेत प्रचारको विषय बनाए । 

पार्टी निर्माणको स्पष्ट खाका आएन

३१ पृष्ठमा आरोपसहित एमाले छाड्दै ओलीलाई नै स्पष्टीकरण सोधेका भीम रावलले देशभक्त पार्टी निर्माण गर्ने जिकिर गरेका छन् । देश दौडाहामा निस्किने र प्राप्त सुझावका आधारमा अघि बढ्ने भनिरहेका भीम रावलले पार्टी कस्तो बन्ने ? 

पार्टीको राजनीतिक सिद्धान्त के हुने ? वैकल्पिक शक्तिको परिधि कस्तो हुने ? यस्ता तमाम प्रश्नको जवाफ भने दिएका छैनन् । 

पार्टी सदस्यता नै नरहेपछि क्यामेराको भीडमा ओलीमाथि भडास पोख्ने र ओलीलाई अनेक लान्छना लगाएर आफूमाथिको कारबाही कति जायज भन्ने भाष्य निर्माण गर्न कस्सिएका उनले अब कस्तो यात्रा तय गर्लान ? यो चासोको विषय बनेको छ ।

एमालेबाट लिएको राजकीय पद

एमाले निर्माणमा ५ दशक लामो समय व्यतित गरेको दाबी गरिरहेका भीम रावलले राजकीय पद सम्हाल्दा कस्ता काम गरे भन्ने विषय भने समेटेको देखिन्न । आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने भीम रावलले उपप्रधानसहित रक्षा र गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन भने पटक–पटक सांसद समेत बनेका थिए । 

गएको निर्वाचनमा एमालेले प्रतिनिधिसभामा टिकट नदिएपछि थप क्रुद्ध बनेका उनले पछिल्लो समय पार्टी नेतृत्वमाथि सामाजिक सञ्जालबाट प्रश्न गर्ने र नेताहरुमाथि आलोचना गर्नेमै समय खर्चिने गरेका थिए । 

कम्युनिस्ट पार्टीको सिद्धान्त र आचरणबाहिर पुगेर रावलले अभिव्यक्ति दिदै हिडेको एमालेको आरोपलाई जनताको बहुदलीय जनवादले के भन्छ भन्दै प्रश्न गर्ने उनले पार्टी कमिटीमा उपस्थिति हुने काम भने गरेनन् । उसोतः आफूलाई बैठकमा जानबार बञ्चित गरिएको आरोप उनले लगाउदै आएका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update