काठमाडाैँ । प्रतिनिधि सभाका सांसदहरुले नेपालको भन्सार कार्यालयहरु अनियमितताको केन्द्र बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहीवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसदहरुले भन्सार सम्बन्धी विधेयकलाई कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलमा विचार राख्ने क्रममा नेपाली भन्सार अनियमितताको केन्द्र बनेको बताएका हुन् ।
समितिको छलफलमा सांसदहरुले अनियमितताको लागि तथ्यांक राख्ने, सर्भरु बिगार्नेदेखि सामान जाँचपास गर्ने, एक्स रे मेसिन बिगार्नेसम्मको काम गर्ने गरेको बताए । भन्सारका कर्मचारीहरुको व्यवहार सेवाग्राहीमैत्री नभएको आरोप पनि सांसदहरुले लगाएका छन् ।
बैठकमा बोल्दै नेकपा एमालेका सांसद पदम गिरीले भन्सारका मेसिन बिग्रिनु भनेको भ्रष्टाचार बढ्ने माध्यम बनेको बताए । एक पटक बिग्रिएको मेसिन वर्षौंसम्म नबन्नु भनेको भ्रष्टाचार गर्ने नियत भएको उनले बताए ।
एमालेकै सांसद सूर्यबहादुर थापा क्षेत्रीले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेर समितिले काम गर्नुपर्ने बताए । आयोगले औंल्याएको विषयलाई समेटेर अघि बढनुपर्ने र आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगर्नु भनेको भन्सारको संसार ठिक छैन भन्ने बुझ्नुपर्ने उनले बताए ।
समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ डम्डुल लामाले कर लिएर सुन ल्याउन पाउनुपर्ने व्यवस्था हुनैपर्ने बताए । सुनमा कडाई गर्नाले अवैध ओसारपसार बढेको र राजश्व पनि गुमेको तर्क गर्दै सरकारले कडाईका साथ कर लिएर सुन, गाँजा, मदिरा, रक्तचन्दनको ओसारपसार गर्न पाउने सुविधान दिनुपर्नेमा उनकाे जाेड थियाे ।
सांसदहरू ज्ञानबहादुर शाही र गंगा कार्कीले भारतीय गाडीको नेपाल प्रवेश र असीमित समय बस्न पाउने सुविधाले नेपाली व्यवसायीको रोजगारी गुमेको आरोप लगाए । नेपाली भूमिमा भारतीय गाडीको मनोमानी रोक्नुपर्ने उनीहरूकाे माग छ ।
बैठकमा सांसद भगवती चौधरीले भन्सार महशुल र करको कारण उपभोग्य सामान नेपालमा महंगो हुने र सीमावर्ती भारतीय बजारमा सस्तोमा पाइने भएकाले सीमावर्ती क्षेत्रका नेपालीहरु सबै भारतीय बजारमा जाने गरेको विषय सबैले बुझ्नुपर्ने बताइन् ।
बैठकमा अधिकांश सांसदहरुले सरकारले भन्सार महशुल घटाएर सीमावर्ती नेपाली बजार चलायमान बनाउनुपर्ने माग गरेका छन् । उनीहरुले भन्सारमा आवश्यक सामग्रीहरुको खरिद गरी चुस्त बनाउनुपर्ने धारणा राखेका हुन् ।
