News 24 Television
नागरिकको अवस्था बदलिन नसकेको प्रधानमन्त्रीको स्वीकारोक्ति

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त रुपमा नागरिकको अवस्थामा परिवर्तन हुन नसकेको स्वीकार गरेका छन् ।शुक्रवार काठमाडौंमा आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनताकाे अवस्थामा परिवर्तन हुन नसकेकाे स्वीकार गरेका हुन् ।

यद्यपि उनले सरकारकाे बचाउ गर्दै नागरिककाे अवस्थामा परिवर्तन हुँदै नभएको भन्ने कुरा गलत रहेको दाबी समेत गरे । उनले अवस्थामा परिवर्तन भएको तर पर्याप्त नभएकाले अरु बढी प्रगति गर्नुपर्ने आवश्यकता रहेकाे औंल्याए ।

नेपालमा महिलाहरुले रोजगारी गर्ने मात्रै नभएर आफैँ रोजगारी सिर्जना गरी रोजगारीको अवसर प्रदान गरिरहेको समेत बताए । उनले महिला जनप्रतिनिधि र पुरुष जनप्रतिनिधिहरुले गरेका कामबीच प्रतिष्पर्धा हुने हो भने ८० प्रतिशतमा महिला विजयी हुने दाबी गरे । 

प्रधानमन्त्री ओलीले भने, ‘यहाँ दिदिबहिनीहरुले भाषण गर्न पाउनुभएको छैन, भाषण गर्न पाउने हो भने दर्शक उचाल्नुहुन्छ । हिजो त्यस्तै थियो त । दिदिबहिनीहरुले विभिन्न प्रकारका उद्यमशिलताका, आफ्नो ठाउँमा उद्यमशिलता कसरी शुरु गर्ने, रोजगारी कसरी शुरु गर्ने, जागिर खान कुद्ने मात्रै होइन, रोजगारीका अवसर सिर्जना गरेर आफैँले इन्टरपेनरसिप भन्छ नि, आफैँ लगानीकर्ता, आफू पनि रोजगार हुने र अरुलाई पनि रोजगार दिने यस कामतिर लागिरहनुभएको छ । यसमा धेरैले सफलता पनि पाउनुभएको छ । उहाँहरुले भन्न पाउनुभएको छैन, आफ्नाआफ्ना ठाउँमा केके गर्नुभएको छ, केके नयाँ कुरा गर्नुभएको छ । अवश्य नयाँ कुरा र काम गर्नुभएको छ । यहाँ राम्रो कामको प्रतिष्पर्धा भएको छ, महिलाहरुको बीचमा मात्रै प्रतिष्पर्धा होइन, पुरुषहरुको समेत कामको मूल्यांकन गरेर प्रतिष्पर्धा आयोजना गर्नुभयो भने ८० प्रतिशत महिलाहरुले जित्नुहुन्छ । त्यो खालको स्थिति बनेको छ । अनि अवस्थामा परिवर्तन भएको छैन ? अवश्य अवस्थामा परिवर्तन भएको छ । तर पर्याप्त परिवर्तन भएको छैन । अरु बढी प्रगति गर्नुपर्छ । उन्नति गर्नुपर्छ ।’

 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update