काठमाडाैँ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारीहरुको आवधिक रुपमा सरुवा हुने व्यवस्था गर्नुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष रेग्मीले यस्तो बताएका हुन् ।
अध्यक्ष रेग्मीले कर्मचारीहरुमा विषयगत विशेषज्ञताको विकास र सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न आवधिक सरुवा प्रणाली ल्याउन जरुरी रहेको बताए । सचिवको हकमा १ वर्ष, सहसचिवको २ वर्ष, उपसचिवको ३ वर्ष, शाखा अधिकृतको ४ वर्ष र अन्य कर्मचारीको ५ वर्ष कम्तिमा पनि एउटै मन्त्रालय मातहतको निकायमा रहने सुनिश्चितता गरिनुपर्ने उनकाे भनाइ छ ।
कर्मचारीतन्त्रलाई स्थायित्व दिन र सुशासन कायम गर्न कर्मचारीको आवधिक प्रणालीले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै रेग्मीले भने,
‘सरुवाको सन्दर्भमा सचिवको एक वर्ष, सहसचिवको दुई वर्ष, उपसचिवको तीन वर्ष, शाखा अधिकृतको चार वर्ष र अन्य कर्मचारीको पाँच वर्ष कम्तिमा पनि एउटै मन्त्रालय मातहतको निकायमा रहने सुनिश्चितता गरिनुपर्दछ । तर प्रदेश र स्थानीय तहमा पठाइने कर्मचारीको हकमा समेत उपयुक्त अवधी तोकी एकमुष्ट प्रदेश मुख्यमन्त्रीको कार्यालयमा पठाई उक्त कार्यबाट परिचालन गर्ने व्यवस्था गरिनुपर्दछ । आवधिक रुपमा सरुवा गर्दा कर्मचारीहरुमा विषयगत विषेशज्ञताको विकास हुने एवं सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न सजिलो हुने भएकाले यस्तो गर्न जरुरी छ । अहिले सक्रिय भएर लाग्यो भेन जतिबेला पनि सरुवा भइहाल्छ भनेर कर्मचारी लागेको देखिन्छ । यसरी चाहीँ कर्मचारी तन्त्रलाई स्थायित्व दिन्छ र सेवा प्रवाह एवं सुशासनमा अनुकुल प्रभाव पर्दछ ।’
