काठमाडौं । पछिल्लो समय प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलहरुबीच घोचपेचको श्रृङ्खला जारी नै छ । सत्ताको परिवर्तन र दलहरुको समीकरण बदलिएसँगै खुला मैदानमा उत्रिएका प्रतिपक्षी र सत्तारुढ दलहरुबीच धेरैजसो समय दोहारीमै वित्दै आएको छ । मुख्यतः यो दोहोरी सुशासनकै विषयमा केन्द्रीत छ ।
यही सिलसिलामा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमाले गठबन्धनसहितको सरकारमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाउने गरेका छन् । यही विषयलाई लिएर प्रचण्डले सत्ता नेतृत्वमाथि कडा अभिव्यक्ति दिइरहेका छन् ।
गठबन्धनलाई पेच पार्ने प्रचण्डका ती अभिव्यक्ति
माओवादी अध्यक्ष प्रचण्डले पछिल्ला दिनहरुमा सुदुरपश्चिमको कञ्चनपुर र सुदुरपूर्वको जिल्ला झापामा पुगेर दिएका अभिव्यक्तिले सत्तारुढ दलहरुलाई गम्भीर चोट पारेको देखिन्छ । प्रचण्डले झापा र कञ्चनपुरका कार्यक्रमहरुमा काँग्रेस र एमालेका कर्तुत उजागर गर्ने उद्घोष गरेका थिए ।
प्रचण्डले आक्रामक शैलीमा माओवादी पहिलो दल भए गिरिबन्धु, यति–ओम्नी, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी खरिद प्रकरणमा भएको भ्रष्टाचारको फाइल खोलिछाड्ने उद्घोष गरेका छन् ।
त्यसको केही दिनपछि प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापाको गौरिगञ्जमा सम्बोधन गरेका प्रचण्डले त्यहाँ पनि गिरिबन्धुको फाइल खोली छाड्ने अभिव्यक्ति दोहोर्याए । र, यीनै फाइल खोल्न लाग्दा आफूलाई सत्ताबाट बाहिर ल्याइएको पनि प्रचण्डको आरोप छ ।
यो सँगै सत्ता गठबन्धनप्रति रोष प्रकट गरेका प्रचण्डले सामाजिक न्यायका लागि महिला तथा जनजातिलाई अझ अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका थिए ।
तर वर्तमान सरकारले यसको ठिक विपरितको नियतले संविधान संशोधन गर्न लागेको प्रचण्डको आरोप थियो । यीनै अभिव्यक्तिले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेमाथि गहिरो पेच परेको देखिन्छ ।
प्रचण्डलाई एमाले–काँग्रेस नेताहरुको चेतावनी
संविधान संशोधन र सुशासनको विषयलाई लिएर एमाले–काँग्रेसका नेताहरुले भने प्रचण्डलाई चुनौति दिन थालेका छन् ।
शुक्रकार एकै कार्यक्रममा सम्बोधन गरेका नेताहरुले प्रचण्डलाई संयमित र सन्तुलित भएर बोल्न चेतावनी दिएका छन् ।
प्रचण्डका पछिल्ला अभिव्यक्तिहरुले सामाजलाई विभाजन गर्नसक्ने भन्दै एमाले नेताहरुर्ले संयमित भएर बोल्न सुझाव दिएका छन् ।उता नेपाली काँग्रेसका नेताहरुले पनि प्रचण्डप्रति नै लक्षित गर्दै भाषणले मात्रै सुशासन स्थापित हुन नसक्ने व्याङ्ग्य गरेका छन् । सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुरा नगर्न भन्दै प्रचण्डमाथि नेताहरु खनिएका छन् ।
हुनत मुलुकमा कुशासन र दण्डहीनता व्याप्त रुपमा बढीरहेको छ । यसको निराकरणका लागि सरकार र दलहरु नै अग्रसर भइरहेका छैनन् । बरु दलहरु भ्रष्टाचारी संरक्षणको प्रतिपर्धामा रहेको देखिन्छन् । सुशासन स्थापनाका लागि दलहरु एकजुट हुनुपर्ने हो, तर यही विषयमा दलहरु एकअर्काबीच वैमनश्यता प्रकट गरिरहेका छन् ।
दलहरुले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा फरक–फरक अभिव्यक्ति दिनुले पनि वर्तमान राजनीत धुलमिल हुन पुगेको हो ।
प्र्रतिपक्ष मात्रै होइन, सत्ता पक्षमै रहेका नेताहरुले पनि सत्ता र प्रतिपक्षमा रहँदा एकै विषयमा स्वार्थअनुकुल फरक–फरक अभिव्यक्ति दिने गरेका छन् । दलहरुको यो प्रवृत्ति नै सुशासन स्थापनाका लागि बाधक विषय बनेको छ ।
दलहरुले भ्रष्टाचार र कुशासनलाई जबसम्म साझा शत्रु मान्दैनन् तबसम्म मुलुक प्रगति पथमा जान असम्भव जस्तै देखिन्छ ।
