काठमाडौं । एमालेबाट निस्कासित भएपछि भीम रावल अहिले देशदौडाहामा छन् । पार्टी निर्माणका लागि देशभर पुगेर अभिमत लिने भन्दै काठमाडौं छाडेका रावललाई एमालेले गरेको कारबाही भने केन्द्रिय समितिबाटै अनुमोदित भएको छ ।
यस्तोमा भीम रावलले राजावादीदेखि धेरैसँग भेटिरहेको तथ्यले कतै उनी गणतन्त्रबाट पछि फर्किन लागेका त होइनन भन्ने प्रश्न समेत उठेको छ । ५० वर्ष लामो समय वामपन्थी राजनीतिमा लागेका भीम रावल अहिले पार्टीबिहीन छन् । एमालेबाट साधारण सदस्यता समेत खोसिएपछि उनी पूर्व पुगेका छन् । तर, उनको गतिविधि भने पहिलेजस्तो वामपन्थी चरित्रको देखिन्न । वामपन्थी विचार र जनताको बहुदलीय जनवादको रटान लगाइरहने भीम रावल पछिल्लो समय राजावादी पक्षधरसँग धेरै लसपस गर्न खोजिरहेका छन् ।
कोशी प्रदेश पुगेका उनले राजावादी र राप्रपाका नेताहरुसँग सघन छलफल गरेका छन् भने नेकपा एकीकृत समाजवादीका नेताहरुले समेत उनलाई आफ्नो पार्टीमा आउने गरि सोच्न अपिल गरिरहेका छन् । देशभर पुगेर एमाले र केपी ओली प्रवृत्तिको भण्डाफोर गर्ने भनेका भीम रावलमाथिको कारबाही भने एमालेले केन्द्रिय समितिबाट अनुमोदन गरेको छ ।
एमाले केन्द्रिय समिति बैठकमा शुरुमै पेश गरिएको यो प्रस्तावलाई हलले अनुमोदन गरेसँगै अब भीम रावलको सदस्यता पूर्णतः खारेज भएको छ । सदस्यता नै गुमाएका भीम रावलबारेका प्रश्नमा एमाले नेताहरु पनि पार्टी निर्णयलाई सहि थापिरहेका छन् । सचिवालय बैठकमा रावलको पक्षमा खुलेर बोलेका योगेश भट्टराईले पनि उनले कम्युनिस्ट विचार छाडेको आरोप लगाएका छन् ।
योगेश जस्तै महेश बस्नेत पनि पार्टीविरुद्धका गतिविधिले नै उनीमाथि काबाहीको स्थिति बनेको दाबी गर्छन् । एमाले नेताहरुले भीम रावलमाथिको कारबाही सहि भएको दाबी गर्ने गरेपनि केहिले उनको पक्षमा समेत धारणा राख्ने बताइएको थियो । तर, चलाखीपूर्वक एमालेले पहिले नै निर्णय अनुमोदन गराएकाले अब यो विषयले खास प्रवेश पाउने स्थिति देखिन्न ।
राजावादीसँगको हिमचिम
भीम रावलले गणतन्त्रको विषयमा समेत राजावादी पक्षधरहरुसँग पछि छिरेको एजेण्डा भएको भनिरहेका छन् । आफू वामपन्थी नभएको भन्दै सबैलाई अटाउने गरि दल निर्माण गर्ने बताइरहेका भीम रावलको उठबस राजावादीहरुसँगै धेरै भएकाले उनको राजनीतिक मार्ग कस्तो बन्ला भन्ने चासो उत्तिकै बढेको छ ।
तर, नेकपा एकीकृत समाजवादीले भने उनलाई राजावादी बन्नुको सट्टा समाजवादमा जाने गरि नेकपा एसमा आउने गरि छलफल गरिरहेका छन् ।
राजावादीसँगको लसपसमै रमाइरहेका उनलाई नेकपा एसका नेताहरुले भेटेर छलफल गरेका छन् । तर, कोशीमा एमालेले अवरोध गर्दा कार्यक्रममा पुगेर बोल्ने उनको इच्छा भने अपुरो हुन पुगेको छ ।
वामपन्थी नभएको, गणतन्त्र पछि ल्याइएको एजेण्डा भएको, सबै अटाउने पार्टी निर्माण गर्ने भन्दै उनले देखाएको सक्रियतामाथिका संसय भने थप पेचिला बनेका छन् ।
रास्वपा प्रष्ट बन्दा भीम रावल अस्पष्ट
देशभक्त भएको दाबी गर्ने भीम रावल ५० वर्ष लामो समय वामपन्थी राजनीतिमा रहे । जीवनको उत्तराद्र्धमा रहेका उनले अहिले भने अस्पष्टता कायम गर्दै राजनीतिक शक्ति आर्जनको बाटो खोजिरहेका छन् ।
यस्तोमा पपुलिजमको नाराबाट उदाएको आरोप खेप्ने गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले नै संघीयता र व्यवस्थाविरुद्धका कुनैपनि स्थिति अस्वीकार गर्ने भन्दै संविधान संशोधनका विषयमा अन्य विषयमा प्रवेश गर्ने निर्णय नै गरेको छ ।
रास्वपाले यस्तो जिकिर गर्दै गर्दा भीम रावल भने देशभक्त बन्ने होडमा अन्योलतामा फसेका छन् । वामपन्थी नभएको भनेका उनले के राजावादी बन्ने संकेत गरेका हुन् ? सबैलाई अटाउने पार्टी सबै वाद समेट्ने गरी अब उनको राजनीतिक बाटो कस्तो हुने हो ? त्यो समेत भन्न नसक्दा उनी पछि कुहिरोको काग बन्ने खतरा बढ्दै गएको छ । धेरैले अहिले उनलाई राजावादी बन्न खोजेको आरोप समेत लगाउन थालेका छन् ।
