काठमाडौं । नेकपा एमालेको आठौं केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष केपी ओलीले पेश गरेको ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीमाथि रोष व्यक्त गर्न धेरै बल खर्च गरिएको छ । ओलीले प्रचण्डमाथि विभिन्न आरोप लगाउदै ठूलो महत्व दिदाँ कांग्रेसमाथि भने खास चर्चा गरेका छैनन् ।
नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले ४७ पृष्ठ लामो प्रतिवेदन पेश गरेका छन् ।
प्रतिवेदनमा एमालेको भूमिका, पार्टी निर्माणको सवालदेखि विभिन्न विषयमा उल्लेख गरेका छन् । यस्तोमा ओलीले माओवादी केन्द्र र अध्यक्ष प्रचण्डमाथि लगाएका मुख्य आरोपहरु के छन त ?
१. प्रचण्ड राजावादीसँगको उठबसमा छन् ।
२. भ्रष्टाचारका फाइल खोल्दै थिए भन्ने विषय नै उपयुक्त होइन, अनुसन्धान गर्ने निकायलाई सघाउने हो ।
३. प्रचण्डमा अवसरवाद र उपयोगितावादको चरम सीमा नाघ्दा स्थिति बदलियो ।
४. उपचुनावमा माओवादी पहिलो भयो भन्ने चर्चा भ्रामक हो । गठबन्धनका कारण उम्मेदवार नदिएको माओवादीले उपचुनावमा उम्मेदवारी दिएपछि मत बढ्यो ।
५. प्रचण्डलाई प्रधानमन्त्री प्रस्तावित गरेपनि उनीमा पुरानै चरित्र देखियो ।
६. राजनीतिक दाउपेचमा प्रचण्ड सक्रिय बनेपछि कांग्रेससँग सहकार्य गर्नुप¥यो ।
७. प्रचण्डले उग्र जातिवादी, राजावादी र पपुलिस्टसँग मिलेर अराजकता निम्त्याउदैछन् ।
८. ०७९ को निर्वाचनपछि नै कांग्रेसले नमानेपछि प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने स्थिति बन्यो ।
९. प्रचण्डकै कारण लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थाविरोधी शक्ति सलबलाउने स्थिति बन्यो ।
यसरी प्रचण्डमाथि अनेक आरोप लगाएका केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि समेत क्रोध पोखेका छन् ।
रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने षडयन्त्र चलेको भन्दै संसदीय छानविन समितिको प्रतिवेदनको प्रसंसा समेत गरिएको छ ।
यसमा ओलीले रास्वपालाई पपुलिस्ट बन्दै अराजकता निम्त्याउने पार्टी भनेका छन् ।
१. सहकारी ठगीको अनुसन्धानलाई प्रभावित पार्ने षडयन्त्रमा रास्वपा केन्द्रिकृत भएर लाग्यो ।
२. अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्दै प्रतिशोध साँध्ने काममा सक्रिय बनेको देखिन्छ ।
३. संसदीय समितिको प्रतिवेदनमा हस्ताक्षर गरेको रास्वपाले प्रधानमन्त्रीमाथि व्यक्तिगत गालीगलौज र अशोभनिय ढंगले पेश भयो ।
४. नयाँपनको व्यर्थता, अराजक चरित्र र नीतिहिन अन्तर्य उदाङ्गो भयो ।
यसरी रास्वपा र माओवादी केन्द्रलाई आरोप लगाएका ओलीले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईलाई ललिता निवासको जग्गा प्रकरणमा उन्मुक्ति दिएको र सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई पनि उन्मुक्ति दिइएको आरोप लगाएका छन् ।
प्रचण्डले सामान्य बयानमात्रै गराएर उन्मुक्ति दिएको ओलीको आरोपमा सरकारी साक्षीको रुपमा एमाले उपाध्यक्ष विण्षु पौडेलका छोरा र सर्वोच्चका न्यायाधीसलाई आफ्नो पालामा दिइएको उन्मुक्तिबारे भने मौन रहेका छन् ।
कांग्रेसप्रति उदार
नेपाली कांग्रेससँगको सत्ता सहकार्यलाई ओलीले स्थिरताको पहिलो खुड्किलो भनेका छन् । कांग्रेसलाई २०७९ को निर्वाचनको परिणामपछि नै मिलेर सरकार बनाउने प्रस्ताव गर्दा कांग्रेसले अस्वीकार गरेको स्मरण गरेका छन भने कांग्रेससँग प्रचण्डका कारण नै सत्ता सहकार्य अघि बढेको उल्लेख गरेका छन् ।
कांग्रेस एमालेबीचको सहकार्यमा बीआरआई सम्झौता सम्पन्न भएको र कांग्रेससँग पहिलेपनि यस्ता सहकार्य भएकाले आगामी दिनमा पनि हुनसक्ने ओलीको प्रतिवेदनमा उल्लेख छ ।
