काठमाडौं । पुस २१ गते तीन ठूला पार्टीका केन्द्रिय समिति बैठकले विभिन्न तरङ्ग पैदा गरिरहेका छन् । एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय समिति बैठकमा राजनीतिक घोचपेचलाई जोड दिइएको छ भने आफूलाई सहि साबित गराउने प्रयास गरेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समिति बैठकमा विभिन्न चर्चा गरेका छन् ।
एमालेले केन्द्रिय समिति बैठकबाट सत्ता सहकार्य र कांग्रेससँगको मिलापलाई उपलब्धिको रुपमा ब्याख्या गर्दा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारले राजनीतिक दाउपेच शुरु गरेको आरोप लगाएको छ भने रास्वपाले संविधान संशोधनका लागि सुझाव कार्यदल गठन गरेको छ । तीन दलको केन्द्रिय समितिका केहि रोचक विषयहरु कस्ता छन त ?
राजनीतिक रुपमा सत्ता र प्रतिपक्षमा रहेका दलहरुले केन्द्रिय समितिको बैठकलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना मतहरु राखिरहेका छन् । यस्तोमा रास्वपाको केन्द्रिय समिति बैठक भने सकिएको छ ।
संविधान संशोधन कार्यदल गठन नै गरेको रास्वपाले कांग्रेस एमालेले मिलेर सरकार बनाउने विषयलाई अनौठो अभ्यास भन्दै औचित्य पुष्टी गर्नुपर्ने चुनौति दिएको छ ।
रास्वपाको केन्द्रिय समिति बैठक सकिएपनि माओवादी केन्द्र र एमालेको भने आइतबारबाट मात्रै शुरु भएको छ । माओवादी र एमालेबीच राजनीतिक प्रतिवेदनमै चर्को घोचपेच चलेको छ भने कांग्रेसप्रति दुबै दलले सकारात्मक दृष्टीकोण राखेको देखिन्छ ।
एमालेले प्रतिवेदनमा काग्रेसलाई कतैपनि पेच पर्ने गरि बोलेको छैन । यसअघिका प्रतिवेदनमा कांग्रेसलाई दक्षिणपन्थी संशोशनवादमा फसेको पार्टीदेखि विभिन्न विषयमा चर्चा गर्दै आलोचना गर्ने गरेको एमाले यो पटक माओवादीप्रति नै आक्रोशित बनेको देखिन्छ ।
माओवादी केन्द्रले सत्ताबाट बाहिर आएदेखि नै एमाले र नेतृत्वकर्ता केपी ओलीमाथि विभिन्न आरोप लगाउदै आएको छ ।
यसरी राजनीतिक घोचपेच चलिरहेको बेला चलिरहेको केन्द्रिय समिति बैठकले कस्ता निर्णय लिन सक्लान ? सरकार नै फेरिने हल्लाकाबीच चलेको बैठकले कस्तो समिक्षा गर्ला ? तमाम प्रश्नहरु भने छरिएका छन ।
