News 24 Television
तिब्बत भूकम्पका कारण ५३ जनाको मृत्यु, नेपालमा केही घर क्षतिग्रस्त

काठमाडौँ । तिब्बतको सिगात्से केन्द्रविन्दु बनाएर मंगलबार बिहान गएको भूकम्पका कारण अहिलेसम्म ५३ जनाको मृत्यु पुष्टि भएको छ ।  चिनियाँ समाचार संस्था सिन्ह्वा र बिबिसीले जनाएअनुसार तिब्बतमा ५३ जनाको ज्यान गएको हो ।

मंगलबार बिहान नेपाली समयअनुसार ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युड स्केलको भूकम्प गएको थियो । नेपालमा काठमाडौँसहितका जिल्लामा ५.३ म्याग्निच्युडको धक्का महसुस गरिएको थियो । तिब्बतमा थप पराकम्पन समेत गइरहेको जनाइएको छ । भूकम्पपछि चिनिया सेनाले ड्रोनको सहायतामा उद्धार तथा खोजी कार्य सुरु गरेको छ । 

नेपालमा उक्त भूकम्पका कारण ओखलढुङ्गा, सोलुखुम्बु र सङ्खुवासभामा केही घरमा क्षति पुगेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । काठमाडौँमा एक व्यक्ति घरको छतबाट हामफाल्दा घाइते भएको र बारामा केही विद्यार्थी बेहाेस भएकाे विवरण समेत आएको छ ।

तिब्बतमा भूकम्पका कारण १ हजारभन्दा बढी घरमा क्षति भएकाे छ भने ६२ जनाभन्दा बढी घाइते भएको विवरण छ । वास्तविक क्षतिको विवरण अझै डरलाग्दो हुनसक्ने आकलन गरिएको छ । 

भूकम्पको धक्का पूर्वी नेपालका साथै, भुटान, बंगलादेश र भारतका केही प्रदेशसम्म महसुस भएको थियो । 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update